महोत्तरी – शिरीष न्युजमा बैशाख ७ गते प्रकाशित समाचारपछि औरही नगरपालिकाले विना अनुमति सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयप्रति कडाइ गरेको छ। नगर कार्यपालिकाको मिति २०८३ साल ०१ महिना १६ गतेको निर्णयअनुसार नगरपालिकाले आज सूचना जारी गर्दै अनुमति नलिई तथा मापदण्ड विपरित सञ्चालनमा रहेका विद्यालयहरूलाई तत्काल शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिकाले साविक जिल्ला शिक्षा कार्यालय जलेश्वर, महोत्तरी तथा नगरपालिका स्थापना पश्चात नगरपालिकाबाट अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयहरूलाई कानुनी प्रक्रियामा ल्याउने उद्देश्यले उक्त निर्देशन जारी गरिएको जनाएको छ।विना अनुमति सञ्चालनमा रहेका विद्यालयहरूमा श्री गणेश मदरल्याण्ड विद्यालय, औरही–५ श्रीपुर, माँ जानकी इ.बो. स्कुल, औरही–५ श्रीपुर, श्री राम जानकी एकेडेमी इ.बो. स्कुल, औरही–४, एस.एम. ग्लोरी इ.बो. स्कुल, औरही–७, सरस्वती एकेडेमी स्कुल, औरही–६, निधिनलियोन बो. स्कुल, औरही–४ तथा महोत्तरी फ्युचर स्टार, औरही–१ रहेका छन्। हाल नगर क्षेत्रभित्र सञ्चालनमा रहेका १३ वटा निजी विद्यालयमध्ये ६ वटा मात्र औपचारिक रूपमा दर्ता भएका छन्।



यो पनि पढ्नुहोस : अनियमित निजी विद्यालयमाथि औरही नगरपालिकाको कडाइ : अनुमति र शुल्क व्यवस्थामा सुधारको पहल
तीमध्ये दुई विद्यालयले कक्षा १० सम्म,तीन विद्यालयले कक्षा ८ सम्म तथा एक विद्यालयले कक्षा ५ सम्म सञ्चालनको अनुमति पाएका छन्। बाँकी विद्यालयहरू आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ। नगर प्रमुख प्रदीप कुमार खड्काले शिक्षाको गुणस्तर सुधार तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन विना अनुमति सञ्चालनमा रहेका विद्यालयहरूलाई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्नुभएको छ। शिक्षा प्रशासन अधिकृत धन बहादुर राईले त्यस्ता विद्यालयहरूलाई दर्ता तथा अनुमति प्रक्रियामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत निलम्बर मिश्रले जारी गर्नुभएको सूचनामा विना अनुमति सञ्चालनमा रहेका विद्यालयहरूलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ। नगरपालिकाले सम्बन्धित सबै विद्यालयहरूलाई यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरी मात्र शैक्षिक गतिविधि सञ्चालन गर्न पुनः आग्रह गरेको छ।









