धनुषा । धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक जनालाई जन्मकैद सजाएको फैसला सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले मिथिला बिहारी नगरपालिका–१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई बलात्कार गरेको अभिभोगमा जन्मकैद सजायको फैसला सुनाएको हो। अदालतका अनुसार फैसला गत बिहीबार सुनाइएको र मङ्गलबार प्रमाणीकरण गरिएको हो।



२०७८ फागुन २८ गते भएको घटनामा मण्डलले सात वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गरिएको अदालतले जनाएको छ। साथै, पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।
फैसलामा प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२) अन्तर्गतको कसुर गरेको पुष्टि भएको उल्लेख छ। सोही संहिताको दफा २१९(३)(क) अनुसार पीडित १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय निर्धारण गरिएको अदालतले स्पष्ट पारेको छ।
अदालतका अभिलेखअनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पुर्याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए।
मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा कसुर प्रमाणित भएको अदालतले जनाएको छ।








