सिरहा – सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरबाट गत शुक्रबारदेखि बेपत्ता भएका एक तीन वर्षीय बालकको शव आइतबार अपराह्न क्षतविक्षत अवस्थामा फेला परेको छ । स्थानीय भोगेन्द्र यादवका ३ वर्षीय छोरा अभियांशुकुमार यादवको शव घरदेखि करिब ५०० मिटरको दूरीमा रहेको अर्को पोखरीको डिलमा फेला परेको हो ।
शुक्रबार अपराह्न २ बजेदेखि बालक हराएपछि घर नजिकैको पोखरीमा डुबेको हुनसक्ने आशंकामा परिवार र स्थानीयले खोजी सुरु गरेका थिए । स्थानीय माझीहरूको सहयोगमा दुई दिनसम्म जाल हानेर खोज्दा पनि फेला नपरेपछि आइतबार सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको थियो ।



वडा अध्यक्ष नवीन कुमार यादवका अनुसार गोताखोरले पोखरीभित्र खोजतलास गर्दा पनि बालकलाई फेला पार्न सकेनन् । त्यसपछि पोखरी वरपर खोजी गर्ने क्रममा गन्ध आएको स्थानतर्फ जाँदा बालकको शव फेला परेको हो । शवको अवस्था अत्यन्तै विभत्स रहेको र जंगली जनावरले कम्मरमुनिको भाग तथा एउटा हात लुछेको पाइएको वडा अध्यक्ष यादवले जानकारी दिए ।
मृतक बालक लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भई केही समयदेखि सोहपुरस्थित मामाघरमा आमासँगै बस्दै आएका थिए । उनका पिता भोगेन्द्र यादव हाल वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले शवको प्रकृति मुचुल्का उठाउने कार्य सम्पन्न भएको जानकारी दिए ।
सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताए । बालकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।




