महोत्तरी – गौशाला नगरपालिका–१२, कान्तिबजारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनपछि शैक्षिक, प्रशासनिक तथा समग्र विद्यालयीय वातावरणमा उल्लेखनीय सुधार देखिन थालेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार सिंहको नेतृत्वमा पठनपाठनलाई व्यवस्थित गर्ने, अनुशासन कायम गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाइएको विद्यालयले जनाएको छ।

अध्यक्ष सिंहले विद्यालयमा देखिएको परिवर्तनबारे प्रतिक्रिया दिँदै भन्नुभयो, “यो म पढेको र मेरो गाउँकै विद्यालय हो, त्यसैले यहाँको शैक्षिक वातावरण सुधार गर्नु मेरो दायित्व हो। विद्यार्थी, शिक्षक र अभिभावक सबैको सहकार्यले मात्र विद्यालयलाई राम्रो बनाउन सकिन्छ।” उहाँले थप भन्नुभयो, “हामीले नियमित अनुगमन, पारदर्शी व्यवस्थापन र सबै पक्षसँग समन्वय गरेर विद्यालयलाई अघि बढाइरहेका छौँ। अझै धेरै सुधारका काम बाँकी छन्, तर हामी निरन्तर प्रयासरत छौँ। गाउँबाट पनि राम्रो सहयोग पाएको छु, जसले काम गर्न थप ऊर्जा दिएको छ।




विद्यालयको आन्तरिक आम्दानी कम भएकाले केही व्यवस्थापकीय काममा चुनौती भने छ।” अध्यक्ष सिंहले आफू जिम्मेवारी सम्हालेपछि निजी विद्यालयका विद्यार्थीहरू समेत यस विद्यालयमा भर्ना हुन थालेको बताउनुभयो। उहाँका अनुसार सरकारी विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको छ। साथै, टेक्निकल विषय अध्ययन गर्ने विद्यार्थीहरूले विद्यालयको विभिन्न गतिविधि तथा सुधारका कार्यमा महत्वपूर्ण सहयोग पुर्याएको उहाँले उल्लेख गर्नुभयो।

विद्यालयको अवलोकन तथा छलफलका क्रममा प्राध्यापक रामस्नेही यादव, शिक्षक सञ्जय यादव, देव नारायण महतो, सुर्या लामा तथा विद्यार्थीहरूसँग विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, अनुशासन र समग्र वातावरणका विषयमा विस्तृत छलफल गरिएको छ। छलफलका क्रममा शिक्षक तथा विद्यार्थीहरूले विद्यालयले पाउनुपर्ने अभिभावकत्व अब सक्षम व्यवस्थापन समितिका अध्यक्ष पाएको भन्दै खुसी व्यक्त गरेका छन्।

उनीहरूका अनुसार नयाँ नेतृत्वको आगमनसँगै विद्यालयको शैक्षिक वातावरण, व्यवस्थापन, अनुशासन तथा समग्र गतिविधिमा क्रमिक सुधार हुँदै गएको छ। स्थानीय दिपलाल महतोका अनुसार विद्यालय अहिले परिवर्तनको दिशातर्फ अघि बढिरहेको छ। उहाँले भन्नुभयो, “अहिले शिक्षकहरू नियमित रूपमा कक्षा लिनुहुन्छ, समस्या सुन्ने वातावरण बनेको छ र सिकाइमा सहजता आएको छ।” विद्यार्थी अस्मिता सिंहले विद्यालयको शैक्षिक वातावरण पहिलेभन्दा सुधारिएको अनुभव व्यक्त गर्नुभयो भने विद्यार्थी अविषेक सिंहले पुस्तकालय तथा प्रयोगशालाको उपयोग बढेको र व्यवहारिक सिकाइमा सुधार आएको बताउनुभयो।

विद्यालयका शिक्षक सञ्जय यादवका अनुसार पहिले सीमित रूपमा मात्र छलफल हुने गरे पनि अहिले सबै शिक्षकसँग प्रत्यक्ष भेटघाट गरी समस्या तथा गुनासो सुन्ने अभ्यास सुरु भएको छ, जसले विद्यालयमा समावेशी व्यवस्थापन र पारदर्शिता बढाएको छ। टेक्निकल विषयका को–अर्डिनेटर शिक्षक देव नारायण महतोले प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको र विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको जानकारी दिनुभयो। त्यस्तै, शिक्षक महिन्द्र मलाहले विद्यालयले हाल वास्तविक अर्थमा अभिभावक पाएको अनुभूति भएको बताउनुभयो।

विद्यालयमा खाजा बनाउने भान्से गुलाब महतोले खाजा व्यवस्थापनमा नियमित अनुगमनपछि सेवा व्यवस्थित बनेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका सदस्य नागेन्द्र ठाकुरले विद्यालयमा अनुशासन, व्यवस्थापन र शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो। स्थानीय दिपलाल महतोले यस विद्यालयको सुधारबाट अन्य विद्यालयका विद्यालय व्यवस्थापन समितिहरूले पनि सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

उहाँका अनुसार यहाँको व्यवस्थापन, पारदर्शिता र सक्रियता अन्य विद्यालयका लागि उदाहरणीय बन्न सक्छ। समग्रमा, नयाँ विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षक–विद्यार्थीको सहभागिता तथा स्थानीय सरोकारवालाको सहकार्यका कारण कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सुधारको स्पष्ट संकेत देखिन थालेको छ।




















