महोत्तरी – नगर अधिवेशन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र महोत्तरीका विभिन्न पालिकामा विभाग गठनको विषयलाई लिएर विवाद चर्किएको छ । विभाग गठनमार्फत मतदाता संख्या अस्वाभाविक रूपमा बढाइएको भन्दै स्थानीय नेताकार्यकर्ताले आपत्ति जनाएका हुन् ।
विशेषगरी एकडारा र जलेश्वर नगरपालिकामा पछिल्लो समय धमाधम विभाग गठन गरिएको भन्दै असन्तुष्टि बढेको छ । यसअघि कायम व्यवस्थाअनुसार वडा समितिका ११ जना सदस्य मात्रै नगर अधिवेशनका मतदाता हुने प्रावधान थियो ।
तर हालै जारी परिपत्रमा संगठन, जलस्रोत, खेलकुदलगायत विभिन्न विभाग गठन गर्न सकिने तथा २०८२ साल चैत ३० गतेअघि गठन भएका विभागका सदस्यलाई समेत नगर अधिवेशनमा मतदाता मानिने उल्लेख गरिएको छ ।



चैत ३० पछि गठन भएका विभागका सदस्यलाई भने मताधिकार नदिने व्यवस्था गरिएको छ । यही व्यवस्थालाई आधार बनाएर पछिल्ला दिनमा पुरानो मिति उल्लेख गर्दै विभाग गठन तीव्र बनाइएको आरोप असन्तुष्ट पक्षको छ ।स्थानीय नेताका अनुसार एकडारा नगरपालिकामा दुई दिनअघिको मिति राखेर १६ देखि १८ वटासम्म विभाग गठन गरिएको छ । प्रत्येक विभागमा तीन–तीन जना सदस्य राखिएको तथा अधिकांश सदस्य वर्तमान तदर्थ नगर समिति वा क्षेत्रीय नेतृत्व निकट व्यक्तिहरू रहेको आरोप लगाइएको छ ।
स्रोतका अनुसार एकै रातमा एकडारा नगरपालिकामा करिब ८५ जनाको नाम विभागीय संरचनामा थपिएको छ भने जलेश्वर नगरपालिकामा हालसम्म ३८ जना समावेश भइसकेका छन् ।
थप सदस्य समावेश गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ ।असन्तुष्ट पक्षले विभाग गठन प्रक्रिया पारदर्शी नभएको, औपचारिक जानकारीबिना सीमित समूहका व्यक्तिलाई मात्रै समावेश गरिएको तथा यसले नगर अधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाएको बताएका छन् ।उता सम्बन्धित नेतृत्वले भने पार्टीको परिपत्रअनुसार नै विभाग गठन गरिएको र संगठन विस्तारलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने प्रतिक्रिया दिएको छ ।
नगर अधिवेशनको पूर्वसन्ध्यामा देखिएको यो विवादले पार्टीभित्र आन्तरिक शक्ति संघर्ष र प्रतिनिधि व्यवस्थापनको विषयलाई थप चर्काएको रास्वपाकै एक नगरस्तरीय नेताले बताएका छन् ।




