
धनुषा - तराई मधेसको मुख्य चाड छठ पर्वको आज मंगलबारबाट विधिवत् रुपमा प्रारम्भ भएको छ।चार दिवसीय छठको तयारी केही दिन अघिदेखि नै सुरु भए पनि व्रतालुहरूले आज स्नान गरी पवित्र खाएर व्रत प्रारम्भ गरेका छन्।
तराइमा सिमित छठ पर्व केही वर्षयता देखि देशको राजधानी काठमाडौं सहित कैयौं सहर र पहाडी जिल्लाहरूमा पनि छठ पर्व मनाउन थालिएको छ।छठ मान्ने व्रतालुहरूले आज बिहानै नङ कटाएर नुहाइधुवाइ गरी चोखो खाएका छन्। छठको पहिलो दिनलाई अर्वाअर्वाइन पनि भनिन्छ।
आज पहिलो दिन व्रतालुहरूले दुई छाक नै खाना खाने भए पनि उनीहरूले उसिनेको चामल, मुसुरोको दाल खाँदैनन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० की एकजना व्रतालु ज्योती देवी झाले अर्वाअर्वाइनबाट व्रत प्रारम्भ गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “बिहान नुहाइधुवाइ गर्ने, चोखो खानेकुरा अर्वामात्रै खाने। लसुनप्याज खान हुँदैन। छठ पर्वमा खानपानको समेत अत्यधिक ध्यान दिने गरिन्छ। ”
तराई मधेसमा मानिने पर्वमध्ये छठलाई सबै भन्दा ठूलो र महत्वपूणर् मानिन्छ। छठ पर्वमा उपवास बस्नेदेखि अन्य सबै तयारी महिलाहरूले नै गर्छन्। व्रतालु महिलाहरू दिनभरी उपवास बस्ने र राती प्रसाद ग्रहण गरेपछि सप्तमीको व्रत सम्पन्न गरी मात्र भोजन ग्रहण गर्छन्।

छठ पर्व विभिन्न लोकमान्यता सित जोडिएको छ। पण्डित रामनरेश झा व्रतको लागि आजबाट पवित्रताको सञ्चय सुरु भएको बताउनुहुन्छ् । “खानपानको आधारले प्याज,लसुन माछा,मासु यिनीहरूको परित्याग गर्ने। चोखो बस्ने, खाने। आजदेखि पूणर् रुपले शुद्धताको पालना गर्न सुरु गरिदिनुपर्छ।”
तराई मधेसमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरूमा विस्तार भइसकेको छ। हरेक वर्ष व्रतालुहरूको संख्या बढदो छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने एकमात्र पर्व छठ हो।