बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आन्दोलन चर्किँदा डिभिजन वन कार्यालयको गाडी जलाइएको छ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रका अनुसार सोमबार राति करिब १२ बजे वन कार्यालयको गाडीमा आगजनी गरिएको हो।
वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको थियो। सब–डिभिजन वन कार्यालय गढन्ताकी वन अधिकृत स्वेता झाको नेतृत्वमा पुगेको सात सदस्यीय टोलीलाई स्थानीयले रातिसम्म नियन्त्रणमा राखेका थिए।
स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई घेराउ गरेका थिए। पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वन कर्मचारीहरूको उद्धार गरेको जनाएको छ।
डिभिजन वन कार्यालयका अनुसार राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण तथा खेतीपाती हुँदै आएको छ। वन कार्यालयले उक्त क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार बिहानदेखि पनि आन्दोलन जारी रहेको छ। स्थानीयले सडकमा काठका मुढा राखेर विपी राजमार्ग अवरुद्ध गरेका छन् भने धर्ना जारी राखेका छन्।

स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने निर्णय स्वीकार्य नहुने बताएका छन्। “हामीलाई बस्ने ठाउँको सुनिश्चितता नभएसम्म आन्दोलन रोकिन्न,” बर्दिवास ३ का वडा अध्यक्ष विराट विस्टले बताउनुभयो । उहाँले “बस्ती नउठाउने” स्पष्ट प्रतिबद्धता सरकार र प्रशासनबाट नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
स्थानीय नेता गणेश बस्नेतका अनुसार सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गरेपछि आफूहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
“प्रदेश सरकारले कुनै पनि वन कार्यालयलाई यस्तो निर्देशन दिएको छैन । त्यसपछि पनि राति बस्तीमा घुसपैठ गरेर घर–घरमा पस्नु कतिको उचित हो ? हाम्रो माग पूरा नभएसम्म हामी सडक छोड्दैनौं,” बस्नेतले भने ।




आज बिहानदेखि स्थानीयवासी शान्तिपूर्ण रूपमा सडक आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनका कारण क्षेत्रमा यातायात प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्थानीय सुमिन्त्रा भण्डारीका अनुसार आफूहरू शान्तिपूर्ण आन्दोलनमा बसिरहेको अवस्थामा रातिको समयमा प्रहरीले घर–घरमा प्रवेश गरेर कुटपिट गरेको आरोप लगाइन् ।

“हामी शान्तिपूर्ण आन्दोलनमा थियौं, तर राति प्रहरीले घरमा पसेर कुटपिट गर्यो । अहिले हामी त्रसित अवस्थामा छौं,” उनले भनिन् ।
स्थानीयवासीले एलानी तथा अव्यवस्थित बसोबासीको समस्या वार्ता र सहमतिका आधारमा समाधान गर्नुपर्ने माग गरेका छन् । घटनापछि कालापानी क्षेत्र तनावग्रस्त बनेको छ ।




