धनुषा- नारी दिवसको अवसरमा एनसेल र युएनडिपीको आयोजनामा संचालित राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम भएकी धनुषाको मुखियापटर्टी मुसहर्नियाकी ज्योतिरानी कुमारी पासवानलाई एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
मुखियापटटी मुसहर्निया गाउँपालिका वडा नं. ४ स्थित श्री बै.द.ज. नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत ज्योतिरानी कुमारी पासवान राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी हुन् ।
विद्यालयमा आयोजित सम्मान कार्यक्रममा मुखियापटटी मुसहर्निया गाउँपालिका वडा न.४ का वडाध्यक्ष उदयचन्द्र झाको अध्यक्षता र गाउँपालिका प्रमुख जयकुमार यादवको प्रमुख आतिथ्यतामा सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । कार्यक्रममा एनसेल र युएनडिपीले पठाएको प्रमाणपत्र, सम्मानपत्रलगायतको पुरस्कार सामाग्री पालिका प्रमुख जयकुमार साहले प्रदान गर्दै ज्योतीरानी कुमारी पासवानले राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम भएर पालिका र विद्यालयको गौरव बढाएकोले प्रशंसा व्यक्त गरे ।
पढाइमा समेत अब्बल रहेकी दलित समुदायको छोरी ज्योतिरानी कुमारी पासवानको उच्च शिक्षाका लागि पालिकाले सहयोग गर्ने प्रतिर्वद्धता जाहेर गरे । पालिका प्रमुख यादवले उच्च शिक्षाका लागि ज्योतिलाई पालिकाबाट छात्रवृत्ति दिएर पढाउने घोषणा गरेका हुन् । पालिका प्रमुख यादवले शिक्षा क्षेत्र आफनो पहिलो प्राथमिकतामा रहेकाले यस अभियानमा शिक्षक, विद्यार्थी, अभिभावक, राजनितिकर्मी र बुद्धिजीविहरुलाई साथ दिन आग्रह गरेका हुन् ।
सम्मान कार्यक्रममा वडाध्यक्ष उदयचन्द्र झाले शिक्षाप्रति पालिका प्रमुखको चासो, चाहना र उत्सुकतालाई उच्च सम्मानका साथ लिनुपर्ने बताए । विद्यालयलाई सवल, सक्षम र उत्कृष्ट बनाउनका लागि आफनो तर्फबाट हुने सहयोगका लागि आफु सदैव अग्रसर रहने बताएका छन् ।
कार्यक्रममा बालविकासमा अध्ययनरत १३ जना विद्यार्थीलाई आसमान नेपालद्धारा शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्राचार्य रामदेव पुर्वेले बताए । विद्यालयमा हाल प्राविधिक र सामान्यतर्फको अध्ययन अध्यापन भई रहेको छ । विद्यालयमा दुई हजार पाँच विद्यार्थी अध्ययनरत रहेकोले शिक्षक र कक्षाकोठा अभावमा दुई सिफटमा कक्षा संचालन भई रहको बताए । उनले पालिकाको समन्वय र सहयोगमा दुवै सिफटमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप प्रति घण्टी कक्षा १ देखि ८ सम्म डेढ सय रुपैया र कक्षा ९देखि १२ सम्म प्रति घण्टी अढाई सय रुपैया प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा शिक्षा पत्रकार समुहका प्रदेश अध्यक्ष दिपेन्द्रप्रसाद सिंह, शिक्षा संयोजक अमरनाथ साफी, फियान नेपालका प्रदेश संयोजक नन्दनी यादव, समाजसेवी मन्जु यादव र देवकुमार महतोलगायत, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
यसैविच, मुखियापटर्टी मुसहर्निया गाउँपालिका प्रमुख जयकुमार यादवले सोमवार मुखियापटर्टी मुसहर्नियाको वडा नं. ३ स्थित दलित वस्तीको अनुगमन गरेका छन् ।
वडामा रहेको ९ घरपरिवार डोम समुदायका व्यक्तिहरुलाई एक परिवार एक जनालाई पालिकामा जागिर दिने प्रतिर्वद्धता जाहेर गरेका छन् ।
उनले दलितहरुको जीवनस्तर उकास्नका लागि पालिकामा जागिर दिने र दलित समुदायको शिक्षा,स्वास्थ्यलगायतको सवालमा आमुल परिवर्तनका लागि पहल गर्ने बताए । वडा नं. ३ का मुसहर वस्ती र डोमवस्तीको अनुगमन गर्दै पालिका प्रमुख यादवले दलितहरुको विकास, उत्थानका लागि पालिकाबाट हुने सहयोगका लागि आफु तत्पर रहेको बताए ।
दलित वस्तीहरु अव्यवस्थित भएकाले चाँडै भुमिहिनहरुलाई पालिकाको तर्फबाट जग्गा दिने र बसोवास क्षेत्रलाई व्यवस्थित गरिनुको साथै आधारभुत सेवा सुुविधा उपलब्ध गराउने बताए ।