धनुषा।
“कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग?



कौनतालपर गोरिया नाचे कौन तालपर हम?
जोगीरा सर र र !!!”
( कुनतालमा ढोलक बज्छ,कुनतालमा मृदंग,कुनतालमा कान्छी नाच्छे कुनताल म)
वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ ।
होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ। मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरु बिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद किशोरी साह बताउँछन्। उनले भने, ‘होलीपर्व र संगीत बिच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्तपार्ने पर्व हो।’
मिथिलानगरपालिका– २नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतो पुर्खौलीबाजा मृदङ्ग बजाई फागु गीतजोगिरा गाउन नपाएकामा दुःखीमनले भने, ‘पहिले पहिले यस्ता फागु गीतजोगिरा वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मगाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यतिमात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागुगीत नै गाइन्छ ।’
‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथनगरपालिका–५ महेन्द्रनगर कुचाईटोलका ७५ वर्षीय रामभरोसी यादवले बताए। रामभरोसीले भने, ‘मेरा समूहका धेरै साथीको मृत्यु भईसक्योे, अस्ती भरखर जोगीराका मुख्य हाम्रो टोली नेता राम सागर ठाकुरको मृत्यु भएकोले यस वर्ष समूहका हामी सबै दुखी छौ। त्यसै पनि अब हामी बुढा भएर थलिएका छौं तर अझै गाउने त रस छ, तर साथदिने कोही छैनन्।’
वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृतिलोप हुने स्थितिमा पुगेको छ।
हरिहरपुरका ६५ वर्षीय रामदुलार महतोेले आफ्नै शैलीमाजोगिरा सुनाए। ,
किनका के हाथकनकपिचकारी,
किनका के हाथअबीर झोरी ?
रामजी के हाथ मेंकनकपिचकारी,
सियाजी के हाथअबीर झोरी‘!! जोगिरा..सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमाअबीरको झोला? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमाअबीरको झोला)
यस्ता पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्। होलिया (फागु गीतगाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँ आउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन्।
सामाजिक छुवाछूत, ठूला सानाजात र भिन्न भिन्न धर्म संस्कृति प्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होलीपर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थाले पछि मैथिली मौलिकता हराउँदै गएको नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले चिन्ता व्यक्तगरे ।
यालठट्टा गरिने नाता बीचका नवयौवना मात्र नभइ होलिया बीच नै ठट्टा गर्ने नाता बीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक हुन्न ?
मिथिलाञ्चलमा बसन्तपञ्चमी देखि होलीगीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा परिक्रमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होलीपर्व मनाउन थालिने परम्परा छ। त्रेतायुगमा भगवान राम र सीताले यहाँ होली खेलेका धार्मिक विश्वास रहि आएकोछ।
जनकपुरधाम १२ का सतीशलाल कर्ण भन्छन्, ‘होली गीतमा पहिले कामोत्सवको मर्म ,धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।’
दोहोरी गीतझै गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर अहिले ती गीत भने लोप हुने अवस्थामा पुगेका छन् ।
भित्री ग्रामिण क्षेत्रमा कुनै कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्नपाईन्छ। क्षीरेश्वरनाथ ७ हरिहरपुरका रामलाल महतोले भने, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरता पूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।’
पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका ७० वर्षीय सत्यनाराण सिंह बताउँछन्। अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि अरब कतार खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्छन्, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभावपारेको भएपनि होलीको रौनकता नै हराएर गएको छ । फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लीलशब्द बढी भएको सखुवा बजारका रामकृपाल जयसवालकोे भनाइ छ ।
मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्द मन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ । पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र राम सीता, शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको कापडीको भनाईरहेको छ।

गाउँघरमा आज भोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । वसन्तऋतुको आगमन संँगसंँगै वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षण तर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने बयोबृद्ध साहित्याकार तथा संस्कृतिविद् डा. राजेन्द्र बिमल बताउँछन्।
‘होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो ।’ संस्कृतिविद् डा. बिमल बताउँछन् ।
तराई मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केहि वर्ष देखि जनकपुरधाम स्थित मिथिला नाट्य कला परिषद (मिनाप)ले गाउँ गाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ।
यस्तो छ होलीको पौराणिक कथा
पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजाभएकाले आफूलाई देवताभन्दा ठूलो हुँभन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने र भोली पल्ट होली खेल्ने चलन रहि आएको भनाइ छ ।




