
महोत्तरी। महोत्तरीको वर्दिवास नगरपालिका १३ बिजलपुरा स्वास्थ्य चौकीका इन्चार्ज उदय यादव आफ्नो निजि क्लिनिकमा समय दिने हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
यादवले कार्यालय समयमा पनि स्वास्थ्य चौकी कै छेउमा संचालन गरेको ओम अमृता प्राथमिक उपचार केन्द्रमा व्यस्त हुने गरेको स्थानीय प्रदीप कुमार महतोले आरोप लगाएका छन् । उनले स्वास्थ्य चौकीमा समय नदिई निजी क्लिनिकमा वढि समय दिएको कारण स्वास्थ्य चौकी को अवस्था अस्तव्यस्त देखिएको छ ।
अस्पताल व्यवस्थित हुन नसक्दा उपचारको लागि आउने सेवाग्राहीहरु झन पीडित बन्नु परेको स्थानिय महतोले बताए । उनले भने-‘२ बर्ष अगाडि यहाँबाट सरुवा भएका ईन्चार्ज अशोक महतोको नेम प्लेट कार्यालयबाट अझ सम्म हटाउन सकेको छैन । वर्तमान इन्चार्ज उदय यादवलाई आफ्नो निजि क्लिनिक चलाएर पैसा कमाउनेबाट फुर्सत नै छैन ।’ यस सम्बन्धमा ईन्चार्ज उदय यादवसंग जानकारी लिंदा आफु नियमित कार्यालय आउने र विरामीलाई सेवा प्रदान गर्दै आएको दावी गरे ।
यादवले स्वास्थ्य चौकीमा अहिले सिटामोल, जीवनजल लगायतका साधारण औषधिहरु समेत मौज्दात नरहेकोले विरामीलाई उपयुक्त सेवा प्रदानमा समस्या भएको बताए ।
यता वर्दिवास नगरपालिकाभित्र रहेका कुनै पनि स्वास्थ्य चौकीमा आवश्यक औषधीहरुको कमी नरहेको नगर स्वास्थ्य संयोजक सुरेन्द्र चौधरीले शिरीष न्युजसहकर्मी लाई टेलिफोन मार्फत बताए । सो स्वास्थ्य चौकीमा औषधी अभावको विषयमा कुनै किसिमको जानकारी आफुलाई नगराएको संयोजक चौधरीले बताए।
सम्बन्धीत वडाका वडाअध्यक्ष श्याम प्रसाद राउतले स्वास्थ्य चौकी व्यवस्थापनको निम्ति आफुले गरेको प्रयास असफल रहेको स्वीकार गरे । उनले यसलाई व्यवस्थित पार्न सक्दो प्रयासगर्ने बताए । यस वर्ष शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकताका राखि विकास योजनाको कार्यक्रमहरु अगाडि बढाउने प्रयास गरेको वडा अध्यक्ष राउतले बताए ।
