महोत्तरी – डिभिजन वन कार्यालय, महोत्तरीले बर्दिवास नगरपालिका–३ कालापानी क्षेत्रमा बस्ती खाली गराउने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
कार्यालयले सोमबार सार्वजनिक अपिल जारी गर्दै स्थानीयस्तरमा फैलिएको भ्रम र त्यसबाट उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।



डिभिजन वन कार्यालयका प्रमुख डिएफओ अजय कुमार मिश्रद्वारा जारी अपिलमा सोमबार साँझ नियमित वन गस्तीका क्रममा वनकर्मीले गरेको मौखिक आग्रहलाई लिएर गलत बुझाइ फैलिएको उल्लेख गरिएको छ ।
उनका अनुसार उक्त घटनापछि केही स्थानीय नागरिक उत्तेजित भई आन्दोलित हुँदा अवस्था तनावपूर्ण बनेको हो ।
“कसैको बासस्थान हटाउने योजना छैन, साथै त्यस्तो कुनै योजना बनाएर सुरक्षा निकायसँग लिखित वा मौखिक रूपमा अनुरोध समेत गरिएको छैन,” अपिलमा भनिएको छ ।
वन कार्यालयले स्थानीय नागरिकसँग समन्वय, संवाद र छलफलमार्फत सहकार्य गर्न आफू सधैं तयार रहेको जनाएको छ । डिएफओ मिश्रले अफवाह र भ्रममा नपर्न आग्रह गर्दै शान्ति र संयमता अपनाउन सबै पक्षलाई अनुरोध गरेका छन् ।
यसैबीच, सोमबार कालापानीमा बस्ती खाली गराउन आएको भन्दै स्थानीयले वन अधिकृतसहित सात जना वन कर्मचारीलाई राति १२ बजेसम्म नियन्त्रणमा लिएका थिए । पछि सुरक्षा निकायको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो ।
त्यस क्रममा उनीहरू सवार गाडीमा समेत आगजनी भएको बताइएको छ ।
मंगलबार बिहानदेखि स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन जारी राखेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहितको टोली, स्थानीय जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच हाल वार्ता जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





