महोत्तरी – महोत्तरीको मनरा शिसवा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशनका क्रममा विवाद हुँदा झडप भएको छ।
नेतृत्व चयनको विषयमा उत्पन्न विवादले उग्र रूप लिएपछि एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा मनरा शिसवा नगरपालिका–८ निवासी गोविन्द कापर रहेका छन्।झडपका क्रममा उनको टाउकोमा चोट लागेको र उपचारका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको जनाइएको छ।




रास्वपाले आगामी महाधिवेशनको तयारीस्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेको बेला आइतबार मनरा शिसवामा आयोजित अधिवेशन नेतृत्व चयनको विषयलाई लिएर विवादित बनेको हो। एक पक्षले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राखेको थियो भने अर्को पक्षले सहमतिका आधारमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिनुपर्ने धारणा अघि सारेको बताइएको छ।
घाइते कापरले वर्तमान नगर सभापति रोमन सिंहले पुनः नेतृत्वमा निरन्तरता खोज्दै निर्वाचन प्रक्रियाबाट पछि हट्न दबाब दिएको आरोप लगाएका छन्।निर्वाचनको पक्षमा आवाज उठाउने कार्यकर्तामाथि हातपात भएपछि स्थिति तनावपूर्ण बनेको उनको भनाइ छ।स्थानीय कार्यकर्ताहरूका अनुसार पार्टीभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वको विषयमा देखिएको मतभेदका कारण अधिवेशनको वातावरण तनावग्रस्त बनेको थियो।

झडपपछि कार्यक्रम प्रभावित भएको तथा अधिवेशनको प्रक्रिया अवरुद्ध बनेको जनाइएको छ।घटनाबारे प्रतिक्रिया लिन वर्तमान नगर सभापति रोमन सिंहसँग सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन सकेन।महोत्तरीमा रास्वपाभित्र नेतृत्व चयनलाई लिएर विवाद देखिएको यो पहिलो घटना भने होइन। यसअघि जलेश्वर नगर अधिवेशन पनि नेतृत्व चयन प्रक्रियासम्बन्धी विवादका कारण प्रभावित भएको थियो।

मनरा शिसवाको पछिल्लो घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन, नेतृत्व चयन प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासबारे पुनः बहस सुरु भएको स्थानीय राजनीतिक वृत्तले जनाएको छ।महाधिवेशनको तयारी तीव्र बनाइरहेको रास्वपाका लागि नगर अधिवेशनमै झडप र घाइते हुने अवस्था सिर्जना हुनु चुनौतीपूर्ण घटनाका रूपमा हेरिएको छ।
संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने पार्टीको दाबीबीच देखिएको पछिल्लो घटनाक्रमले व्यवस्थापन क्षमता र आन्तरिक एकतामाथि प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।




