अजय शाह,गौशाला (महोत्तरी)– राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा सीमापारि पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली भारतको हरियाणा राज्यमा बन्धक अवस्थामा रहेको आरोप सार्वजनिक भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन् । आफन्तको सकुशल उद्धारको माग गर्दै परिवारजनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय बासिन्दाका अनुसार बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । आर्थिक अभावका कारण रोजगारीको खोजीमा भारत पुगेका उनीहरू अहिले सम्पर्कविहीनजस्तै अवस्थामा रहेको र उद्धारको पर्खाइमा रहेको परिवारजनको भनाइ छ ।



पीडितमध्येकी किरण सदाले टेलिफोनमार्फत आफूहरूलाई काममा लगाइए पनि श्रमअनुसार पारिश्रमिक नदिइएको, विभिन्न बहानामा नियन्त्रणमा राखिएको तथा डर–त्रास देखाएर कुटपिटसमेत गरिएको जानकारी दिएको परिवारले जनाएको छ । परिवारका सदस्यका अनुसार पीडितमाथि भएको भनिएको दुर्व्यवहारका केही तस्बिर र भिडियोसमेत उनीहरूसम्म पुगेका छन्, जसले थप चिन्ता बढाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित परिवारद्वारा दर्ता गरिएको निवेदनअनुसार बर्दिबास–३ गौरीडाँडाका दिलिप परियारले आकर्षक तलब र सुविधा दिलाइदिने आश्वासन दिँदै गत चैत १३ गते उनीहरूलाई भारतको हरियाणा राज्यस्थित झज्जर थाना अन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा काम गर्न लगेको उल्लेख छ । त्यसपछि उनीहरू समस्यामा परेको परिवारजनको दाबी छ ।
बर्दिबास–१४ का वडा अध्यक्ष विजयकुमार महतोका अनुसार पीडित परिवारले आफ्ना आफन्तको खोजतलास, उद्धार तथा घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन पठाएका छन् । उहाँले कमजोर आर्थिक अवस्थाका नागरिक रोजगारीको नाममा जोखिमपूर्ण परिस्थितिमा पर्नु दुःखद भएको बताउँदै उद्धारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बन्धकमा परेका नागरिकहरूको खोजतलास तथा उद्धारका लागि सबै पक्षलाई सक्रिय हुन आग्रह गर्नुभयो ।
घटनाले वैदेशिक तथा सीमापार रोजगारीका क्रममा हुने सम्भावित श्रम शोषण र मानव बेचबिखनजस्ता जोखिमलाई फेरि उजागर गरेको छ । गरिबी, अशिक्षा र रोजगारीको अभावका कारण विपन्न समुदायका नागरिक यस्ता प्रलोभनमा पर्न सक्ने भएकाले सचेतना र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमल्सिनाले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै पीडितहरूको जीवन रक्षा र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो । यता, मुसहर बस्तीमा भने आफ्ना परिवारका सदस्य सुरक्षित फर्किने आशामा दिन गन्नेहरूको प्रतीक्षा अझै जारी छ ।-गोरखापत्र अनलाइन




