भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा थिए । विभिन्न देशका राजनीतिज्ञहरूलाई भाजपाले ‘नो बीजेपी’ कार्यक्रमअन्तर्गत भारत भ्रमणमा आमन्त्रण गर्दै आएको छ। यसअघि पनि नेपाली कांग्रेस, एमालेलगायत दलका नेताहरू भाजपाको निमन्त्रणामा दिल्ली भ्रमणमा गएका थिए ।
नेपालमा गत फागुन २१ गतेको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै विश्वका विभिन्न देशबाट रास्वपा तथा प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्र शाहलाई बधाईको ओइरो लागेको थियो । भारतले भने रवि लामिछानेसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह दुवैलाई शुभकामना सन्देश पठाएको थियो । स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत ‘वन-टु-वन’ बधाइ तथा शुभकामना दिएका थिए ।



रवि भाजपाको आमन्त्रणमा भारत जाँदै छन् भन्ने समाचार सार्वजनिक हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको चर्चा उत्कर्षमा पुगेको थियो। तर उनको भ्रमण अन्तिम समयमा आएर अचानक स्थगित भएको थियो । नेपालका ४७औँ प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा तत्कालका लागि समाचारमै सीमित हुन पुग्यो । एकवर्ष सुशासनमा ध्यान दिने, ‘कम बोल्ने र बढी काम गर्ने’ छवि निर्माणमा केन्द्रित रहेकाले प्रधानमन्त्री शाह कम्तीमा एकवर्ष देशबाहिर भ्रमण नगर्ने सोचमा रहेको कुरा रास्वपाभित्र बालेन्द्रनिकट मानिने नेताहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् ।
यस्तो अवस्थामा रवि लामिछानेको भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट टिप्पणी र विश्लेषण हुनु स्वाभाविक हो । भाजपाको विशेष आमन्त्रणमा ‘रेड कार्पेट’ स्वागत पाएका लामिछानेले हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत भारतसँग रास्वपाको अपेक्षाबारे खुलेर धारणा व्यक्त गरेका थिए। उक्त लेखले पनि उल्लेखनीय चर्चा पाएको देखिन्छ ।
के रवि लामिछानेको भारत भ्रमणका क्रममा देखिएका ‘पोलिटिकल अप्टिक्स’ (दृश्य–राजनीति) ले नेपाल–भारत सम्बन्धमा कुनै परिमाणगत परिवर्तन (प्याराडाइम सिफ्ट) ल्याउन सक्ने सम्भावना राख्छ ? यो आलेख यिनै प्रश्नहरूमा केन्द्रित रहेको छ ।
अप्टिक्सले पनि अर्थ राख्दछ
तीन वर्षअघि रवि लामिछानेले बेलुकाको समयमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि आक्रोशपूर्ण टिप्पणी गरेका थिए । त्यही क्रममा उनले नेपाल-भारत सम्बन्धको अपरिहार्यता र दुई देशबीच सुमधुर सम्बन्ध कायम राख्न भारतले नेपालसँग ‘सिधी बात’ गर्नुपर्ने अपिल पनि गरेका थिए । सिधी बात अर्थात् राजनीतिक तहमा खुला संवादमार्फत नेपाल-भारत सम्बन्धका विभिन्न आयामलाई सुदृढ बनाउँदै लैजानुपर्छ भन्ने उनको ध्येय थियो ।
फागुन २१ को निर्वाचनपछि ४८ प्रतिशत मत र १८२ संघीय सांसद भएको दलका सभापति बनेका छन् लामिछाने । भाजपा मुख्यालयमा पुष्पवृष्टिसहित गरिएको स्वागत कार्यक्रमले भारतीय सत्तारुढ दलले नेपाली सत्तारुढ दलका सभापतिलाई दिन खोजेको न्यानोपनाको सन्देश दिएको देखिन्छ। यस्तो स्वागतले स्वयं लामिछानेलाई पनि मन्त्रमुग्ध बनाएको हुनुपर्छ ।
पुराना दलहरूमध्ये नेपाली कांग्रेस, एमालेजस्ता पार्टीहरूको उदय नै भारतीय भूमिबाट भएको इतिहास छ । माओवादीका हाई कमाण्डरहरू कहिले भारतमा पक्राउ पर्थे त कहिले भारतमै ‘पनाह’ पाउने गर्थे । अहिलेसम्म नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूको राजनीतिक अभ्यास शैलीसँग अभ्यस्त सरोकारवालाहरूका लागि पनि यसले नयाँपन थप्ने नै भयो ।
सन् २०१४ भन्दा पहिले गैर-भाजपा सरकार र नेताहरूसँग नेपाली राजनीतिज्ञहरूको सम्बन्ध व्यक्तिगत स्तरमै स्थापित थियो। चार वर्षअघि मात्र उदाएको रास्वपा नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा देखा पर्दा यसबारे देशभित्र र बाहिर राजनीतिक विमर्शमा स्थान पाएको थियो । तर भदौ २३ र २४ गतेको जेनेजी विद्रोहपश्चात् भएको निर्वाचनबाट जसरी रास्वपाले राष्ट्रिय राजनीतिमा ‘परिमाण विस्थापन’ गरेको छ, त्यसले राजनीतिक अभ्यासमा पनि नयाँपन थपेको छ ।
रविले आफ्नो लेखमा रास्वपाको उदय सडक हिंसा वा सैन्य विद्रोहबाट नभई शान्तिपूर्ण मतदान क्रान्ति (ब्यालेट-बक्स रिभोल्युसन) बाट भएको र नयाँ पुस्ता पुरानो राजनीतिक बोझ तथा पूर्वाग्रहबाट सर्वथा मुक्त रहेको स्पष्ट पारेका छन् । नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतीय भूमिका रहँदै आएको तथ्यसँग रविको राजनीतिक उदय केही हदसम्म बेमेल देखिन्छ ।
रास्वपाबाट प्रधानमन्त्री बालेन्द्र शाह रहे पनि बहुदलीय संसदीय व्यवस्थामा दलको प्रभाव र वर्चस्व जहिले पनि रहने नै हुन्छ । रविलाई भारतले दिएको सत्कार र सौहार्दताले उनी ‘पोटेन्सियल प्रधानमन्त्री’ पनि हुन् भन्ने अप्टिक्स निर्माण गरेको देखिन्छ ।
रास्वपा सभापति रवि लामिछानेले जेठ २० गते अपराह्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट गरिसकेका थिए। पार्टी सभापतिको हैसियतमा रविले भारतका प्रधानमन्त्रीसँग एक घण्टा संवाद गर्ने अवसर पाउनु संयोग मात्र होइन, भारतले रास्वपामार्फत नेपालसँग विस्तार गर्न खोजेको ‘खुला राजनीतिक इन्गेजमेन्ट’ को संकेत पनि हो ।
मोदीले रविसँगको भेटवार्तापछि भएको संवादको सार सार्वजनिक गर्दै दुई देशको साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत र समर्थन गरेका थिए । उनले एक्समा लेखेका थिए, ‘हाम्रो ‘नेबरहुड फर्स्ट’ नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’
मोदीको उक्त पोस्टको भाव हिन्दुस्तान टाइम्समा प्रकाशित रविको प्रस्तावनात्मक लेखलाई सम्बोधन गरेको स्पष्ट बुझ्न सकिन्छ । सभापति रविले पनि मोदीको एक्स पोस्ट सेयर गर्दै त्यसप्रति सहमति जनाएका थिए । रविको लेख होस् वा भारतीय संस्थापन शक्तिहरूसँग भएका भेटघाट, उनले ‘विकास कूटनीति’ मा जोड दिन खोजेको देखिन्छ ।
सन् २०१४ देखि निरन्तर भारतीय सत्ता सम्हाल्दै आएको भाजपाको आधारभूमि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) रहेको छ । भाजपाको सांस्कृतिक राष्ट्रवादको जरा नै आरएसएसको वैचारिक प्रस्तावनामा रहेको मानिन्छ । भाजपाले सत्ता सम्हालेदेखि भारतीय सनातन सभ्यता र सांस्कृतिक अभ्यासको प्रचार-प्रसार गर्दै त्यसलाई धार्मिक पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्दै आएको छ ।
धर्मलाई अफिम र पूजापाठलाई पाखण्ड भन्दै जनयुद्धबाट उदाएका पुष्पकमल दाहालले वैचारिक विरोधाभासका बाबजुद भारत भ्रमणका क्रममा परम्परागत शैलीमा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा विशेष पूजा गरी भारतीय सांस्कृतिक राष्ट्रवादप्रति आत्मीयता प्रकट गरेको सन्देश दिएका थिए ।
अयोध्यामा निर्मित राम मन्दिरको दर्शनबाट रविको भारत भ्रमणको समापन हुनु पनि भारतीय सांस्कृतिक ‘अप्टिक्स’ प्रतिको सहज स्वीकार्यताका रूपमा लिन सकिन्छ । यसलाई नेपालको वर्तमान सत्तासँग दाँज्ने हो भने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ ग्रहणका क्रममा प्रस्तुत गरेको सांस्कृतिक आवरणको विस्तारका रूपमा पनि हेर्न सकिन्छ ।
विकास कूटनीति र अन्य आयाम
समान सभ्यताको धरातलमा उभिएको नेपाल-भारत सम्बन्ध एउटा अकाट्य यथार्थ हो भने दुई देशबीच रहँदै आएको बेटी-रोटी सम्बन्ध यसको भावनात्मक आयाम हो। नागरिक स्तरमा अटुट रूपमा स्थापित यी दुई देशबीचको सम्बन्ध कसैले चाहँदैमा बिग्रने होइन । तर राज्य सञ्चालनका सवालमा उत्पन्न मतभिन्नताले दिल्ली र काठमाडौंबीचको सम्बन्धमा परिस्थितिजन्य उतारचढाव नदेखिएको भने होइन ।
वैश्विक र क्षेत्रीय स्तरमा भूराजनीतिक घर्षण बढिरहेको बेला रवि लामिछानेको प्रस्तावनात्मक लेखमा उल्लेख गरिएको वाक्यांश-‘रास्वपा नेपाल-भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक घर्षणबाट टाढा राखेर आर्थिक साझेदारी र विकास कूटनीतिलाई दृढतापूर्वक अगाडि बढाउन चाहन्छ’ ले रास्वपाको एउटा आदर्शवादी सोचलाई झल्काउँछ।
सन् १९४७ विश्व राजनीतिमा एउटा विशेष वर्ष थियो। यही वर्ष भारत स्वतन्त्र भएको थियो । दोस्रो विश्वयुद्धपछिको बदलिँदो विश्वव्यवस्थाले कस्तो आकार लिने भन्ने सन्दर्भमा यसै वर्षदेखि संयुक्त राज्य अमेरिकाको लोकतान्त्रिक पुँजीवाद र सोभियत संघको अधिनायकवादी साम्यवादबीचको गहिरो वैचारिक द्वन्द्व शीतयुद्धको कारक बन्यो । ४६ वर्षसम्म चलेको शीतयुद्धका क्रममा भारतले असंलग्न आन्दोलन (नन–अलाइन्ड मुभमेन्ट) लाई आत्मसात गर्दै अगाडि बढ्यो । नेपाल पनि कुनै शक्ति गुटको पक्ष वा विपक्षमा लागेन। नेपाल अहिले पनि असंलग्न परराष्ट्र नीतिको पक्षधर देशका रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेको छ ।
नेपाल-भारत सम्बन्धको सन्दर्भमा रास्वपाले छिमेकीसँगका समस्यालाई गलैँचामुनि नलुकाइ ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विवाद समाधान गर्नुपर्ने धारणा अघि सारेको देखिन्छ । परम्परागत राजनीतिज्ञहरूले गर्ने अतिराष्ट्रवादी बयानबाजीको सट्टा सम्बन्धलाई पुनर्सन्तुलित गर्ने तर्क यथार्थवादी सुनिन्छ ।
रास्वपा सभापतिले आफ्नो भारत भ्रमणलाई विकास कूटनीतिमा केन्द्रित गरेको जस्तो देखिए पनि नेपाललाई विभिन्न शक्ति राष्ट्रहरूले रणनीतिक साझेदारीतर्फ डोर्याउने प्रयास गरिरहेका बेला त्यसबाट जोगिँदै नेपालको विश्वदृष्टिकोण निर्माण गर्नु चुनौतीपूर्ण छ ।
नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) होस् वा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई), भारतले नेपालमा विकसित यस्ता रणनीतिक बहसलाई सामान्य ढंगले लिएको होला जस्तो लाग्दैन। फेरि, भारतले नेपालसँग रणनीतिक साझेदारीसँग सम्बन्धित कुनै पृथक सहमति गर्नका लागि औपचारिक प्रस्तावसमेत गरेको छैन ।
यद्यपि, नेपाल-भारतको सुरक्षा नीतिबारे सन् १९५१ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले पहिलो पटक नेपाल भ्रमणका क्रममा गरेको सम्बोधन अहिले पनि सान्दर्भिक मान्न सकिन्छ । उनले भनेका थिए, ‘पहाडले घेरिएको नेपाल, हिमालकी छोरी, भारतकी बहिनी, म अन्ततः यहाँ आएको छु… म आफैं पनि पहाडहरूको सन्तान हुँ । सुदूर उत्तरका पहाडहरू, तिनका दृश्यहरू र तिनीहरूमाथि बहने ताजा हावाको सासले मलाई उत्साहित बनाउँछ । हिमालयहरू भारतका गुरु र पहरेदार हुन्, नेपाल र तिनका सेता हिउँले ढाकिएका चुचुराहरूले मित्रहरूलाई स्वागत गर्छन् र शत्रुतापूर्ण मनसायहरूका लागि चेतावनी पनि हुन् । ती साझा र स्थायी गुरुहरूसँग भारत र नेपालको भाग्य एकअर्कासँग नजिकबाट जोडिएको छ । हामी दुवैले हाम्रो स्वतन्त्रताको रक्षा गर्ने यो बहुमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ । आजको अनिश्चित संसारमा, जहाँ राष्ट्रहरू युद्धको तयारी गरिरहेका छन् र त्यसैबारे सोचिरहेका छन्, विशेष गरी हामीले प्राप्त गरेका स्वतन्त्रताहरूलाई सँगै संरक्षण गर्नु आवश्यक छ ।’
आजको बदलिँदो विश्व व्यवस्था र क्षेत्रीय रणनीतिक आयामहरूको बीच नेपाली राजनीतिमा देखिएको पिँढीगत परिवर्तन (जेनेरेशनल सिफ्ट) लाई भारतले गम्भीरतापूर्वक लिएको छ। रास्वपा सभापतिलाई भारतले दिएको सम्मान र भारतले बढाउन खोजिरहेको इन्गेजमेन्ट दीर्घकालसम्म निरन्तर रहोस् भन्ने भारतको ध्येय हुन सक्छ।
अन्त्यमा, नेपालले परराष्ट्र मामिला विज्ञ मधुरमण आचार्यको भनाइलाई आत्मसात गर्दै अगाडि बढ्नु यथार्थवादी कदम हुनेछ। आचार्यका अनुसार, ‘नेपालको विश्वदृष्टिकोणमा सर्वव्यापी भारतभन्दा बढी महत्वपूर्ण केही छैन, जससँग नेपालको व्यापक राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध छ। यी गतिशीलताहरूले नेपालको सन्दर्भमा भारतलाई एउटा कल्पवृक्षका रूपमा प्रस्तुत गर्छन्, त्यो रुख जसले तपाईंलाई चाहेको फल दिन सक्छ। यदि सावधानीपूर्वक व्यवहार गरियो भने भारतले नेपालका धेरै समस्याको समाधान प्रदान गर्न सक्छ । तर जब ठूलो छिमेकीको क्रोध व्यवस्थापन गर्न गाह्रो हुन्छ, त्यही भारत ठूलो समस्याको स्रोत पनि बन्न सक्छ ।’





