महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीमा संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रियालाई लिएर देखिएको आन्तरिक विवादका कारण जिल्ला अधिवेशन प्रभावित बनेको छ। विवाद समाधान हुन नसकेपछि अधिवेशनका बाँकी सबै कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएका छन्।
जिल्ला अधिवेशन निर्वाचन समितिले जारी गरेको निर्णयमा अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच असमझदारी र विवाद उत्पन्न भएको उल्लेख गर्दै सहमतिका आधारमा समाधान खोज्न थप समय आवश्यक परेकाले कार्यक्रम स्थगन गरिएको जनाएको छ।



पार्टीभित्र नगर तथा क्षेत्रीय अधिवेशनदेखि नै उम्मेदवारी दर्ता, प्रतिनिधि छनोट तथा नेतृत्व चयनलाई लिएर मतभेद देखिएको थियो। स्रोतका अनुसार केही स्थानमा विवाद चर्किँदा हातपात र कुटपिटसमेत भएको थियो। संगठनभित्र बढ्दो असन्तुष्टिका कारण जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया समेत प्रभावित बनेको बताइएको छ।

जिल्ला नेतृत्व चयनका विषयमा पनि नेताहरूबीच फरक–फरक धारणा देखिएको छ। एक पक्षले अधिवेशन प्रक्रियामा पारदर्शिता र विधिसम्मत अभ्यास नभएको आरोप लगाएको छ भने अर्को पक्षले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएको बताइएको छ।
अधिवेशन निर्वाचन समितिका संयोजक मनिष कुमार साहद्वारा हस्ताक्षरित निर्णयपत्रमा विवादित पक्षहरूबीच संवाद र छलफलमार्फत सहमतिको वातावरण निर्माण गरी अधिवेशनलाई निष्पक्ष र व्यवस्थित ढङ्गबाट सम्पन्न गर्न समय आवश्यक परेकाले कार्यक्रम स्थगन गरिएको उल्लेख गरिएको छ।

पार्टीका केही प्रतिनिधिले आन्तरिक विवाद समयमै समाधान हुन नसक्दा संगठन विस्तार अभियान नै प्रभावित बनेको बताएका छन्। अधिवेशन प्रक्रिया पटक–पटक अवरुद्ध हुँदा कार्यकर्तामा अन्योल र असन्तुष्टि बढ्दै गएको उनीहरूको भनाइ छ।
महोत्तरीमा देखिएको पछिल्लो घटनाक्रमले रास्वपाको जिल्ला संगठनको एकता, नेतृत्व चयन प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणसम्बन्धी विषयलाई थप चुनौतीपूर्ण बनाएको छ। अब पार्टी नेतृत्वले आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै अधिवेशन प्रक्रिया पुनः सञ्चालन गर्न सक्ने वा नसक्ने विषयलाई कार्यकर्ता र सरोकारवालाले चासोपूर्वक हेरिरहेका छन्।






