
जनकपुरधाम- होलीको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले आयोजना गरेको दुईदिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन अन्तर्गत पहिलो दिन सोमबार होरैया गायन प्रतियोगिता सम्पन्न भएको छ ।

मिथिला नाटय कला परिषद जनकपुरधामको आयोजनमा प्रत्येक वर्ष झै यस वर्ष पनि जानकी मन्दिर प्राङ्गणमा विभिन्न जिल्लाका हौरैया समुहको सहभागिता रहेको थियो ।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

सोमवारको होरी महोत्सवमा भएको होरैया प्रतिस्पर्धामा सहभागी कुल ८ वटा टिमहरु मध्ये धनुषाको गिद्धाबेलापट्टी प्रथम, मंगलपुर दोस्रो र गिद्दा तेस्रो भएका छन् । उनीहरुलाई ट्रफी, डम्फा सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मिनाप अध्यक्ष प्रमेश झा, पूर्वअध्यक्षहरु सुनिल मिश्र, सुनिल मल्लिक, मदन ठाकुरसँगै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी लगायतले विजेता समूहलाई शिल्ड, तक्मा, डम्फा आदि प्रदान गरेका थिए ।

प्रथम हुने समूहलाई ५ तोलाको चाँदीको तक्मा, दोश्रो हुनेलाई ४ तोला र तेश्रो हुने समूहलाई ३ तोलाको चाँदीको तक्मा प्रदान गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, साहित्यकार रमेश रञ्जन, मिनाप अध्यक्ष प्रमेश झा लगायतले जानकी मन्दिर प्रांगणमा डम्फा बजाएर समूहिक रुपमा फागु गीत प्रतियोगिताको उदघाटन गरेका थिए।

मिथिलाञ्चलमा लोप हुँदै गएको फागु गीत गायन परम्परालाई निरन्तरता दिन मिनापले पछिल्लो २७ वर्षदेखि फागु महोत्सव मनाउँदै आएको छ । महोत्सवको पहिलो दिन फागु गायन प्रतियोगिता सम्पन्न भएको छ भन्ने दोश्रो दिन मंगलबार महामुर्ख सम्मेलनको आयोजना हुने मिनापका अध्यक्ष झाले बताए।

मंगलबार आयोजित हुने महामुर्ख सम्मेलनमा समाजका अगुवाहरूलाई विशेष सम्मान गरिन्छ । महामूर्ख सम्मेलनमा मिनापका कलाकारहरुले हास्यव्यंग्य नाट्य समेत प्रदर्शन गर्नेछन् भने हास्य कवि गोष्ठी पनि आयोजना गर्नेछन्।
