महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा बाट शुक्रबारदेखि हराइरहेका एक बालकको शव आज पोखरीमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोले का अनुसार स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादव शुक्रबार साँझ करिब ५ बजे घर नजिकै खेलिरहेका बेला अचानक हराएका थिए।



प्रहरीका अनुसार गाउँकै एक पोखरीमा तैरिरहेको बोराभित्र बालकको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जाँचका क्रममा बालकको शव बोराभित्र राखिएको अवस्थामा फेला परेको हो।शव बोरामा राखिएको अवस्थामा भेटिएकाले घटनामा हत्या भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले जानकारी दिए।
यसैबीच, महोत्तरीको जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव गत जेठ ७ गतेदेखि तथा जलेश्वर नगरपालिका–६ निवासी बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





