महोत्तरी – महोत्तरी प्रहरीले विदेशी मुद्रा अपचलन तथा श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिबारा बजारस्थित भिठ्ठामोड–जनकपुर सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुको नियमित जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका जलेश्वर नगरपालिका–६ बासोपट्टी टोल निवासी ५५ वर्षीय अरुण कुमार चौधरीलाई नियन्त्रणमा लिइएको हो।



प्रहरीले उनको शरीर तलासी गर्दा पाइन्टको अगाडिको भित्री खल्तीबाट गैरकानुनी रूपमा लुकाइछिपाइ राखिएको भारतीय मुद्रा एक लाख ११ हजार तीन सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ। त्यसैगरी पाइन्टको पछाडिको दाहिने खल्तीबाट विभिन्न दरका नेपाली नोट गरी एक लाख १७ हजार छ सय ५० रुपैयाँ फेला परेको थियो।
बरामद गरिएको भारतीय मुद्रामा पाँच सय दरका २११ थान, दुई सय दरका २१ थान, एक सय दरका ६ थान र पचास दरका २१ थान नोट रहेका छन्। यस्तै नेपाली मुद्रामा एक हजार दरका १०६ थान, पाँच सय दरका १५ थान, एक सय दरका २७ थान, पचास दरका ५ थान र बीस दरका ५ थान नोट बरामद भएको प्रहरीले जनाएको छ।
नगद रकमका अतिरिक्त एक थान इटेल कम्पनीको किप्याड मोबाइल र एक थान साइकलसमेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले नियमित जाँचका क्रममा श्रोत नखुलेको नेपाली तथा भारतीय मुद्रा फेला परेपछि चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रारम्भिक अनुसन्धानपछि बरामद नगद, मोबाइल तथा साइकलसहित पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





