काठमाडौँ — रास्वपा सांसद अमरेशकुमार सिंहले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुनै नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले यो बजेटले कति जनता खुसी छन् भनेर प्रश्नसमेत गरे ।
‘यो बजेटबाट नेपालका कति प्रतिशत जनता खुसी हुन्छन् ? बैंकमा कति निक्षेप जम्मा भएको छ कि कसैले ऋण लिन तयार नै छैन । आज यहाँ व्यापार गर्ने वातावरण छैन । डरको माहोल छ । डरले शासन चल्ला तर डरले विकास हुँदैन,’ सांसद सिंहले भने ।



त्यस्तै जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाउने दक्षिण एसियामै कुनै देश नभएको उनको दाबी थियो । बजेटलाई उनले फुलाइएको बेलुनको संज्ञा पनि दिए । ‘यो आफैंमा एउटा फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला । झन्डै ७ खर्ब रुपैयाँ त बजेटको डेफिसिट(घाटा) छ,’ उनले भने ।
बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखिएको भन्दै उनले असन्तुष्टिसमेत पोखे । आफू संविधानको हस्ताक्षरकर्तासमेत भएको स्मरण गराउँदै उनले भने, ‘संविधानमै शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा राखिएको छ । मौलिक हकमा ट्याक्स लगाउन पाइँदैन । प्राइभेट स्कुल वा हस्पिटलाई ट्याक्स लाग्या छैन, विद्यार्थीमाथि ट्याक्स लगाइएको छ । सार्वजनिक विद्यालयलाई मजबुत बनाऔँ न । सार्वजनिक विद्यालय प्राथमिकतामा परेन । कम्तीमा ७ वटा प्रदेशमा बुढानीलकण्ठजस्तो स्कुल बनोस् भन्ने चाहन्थें । तर त्यो कहीँ भेटिएन । मेरो पीडा त्यहाँ छ ।’
युवालाई रोजगारी दिन नसके केही पनि नहुने उनको भनाइ छ । ‘मुद्रास्फीति यति भइरहेको छ गरिबका लागि के ल्याइयो । कर्मचारीलाई २१ प्रतिशत तलब बढाइएको छ । कर्मचारी कति प्रतिशत छन् ?,’ उनले भने ।
दक्षिण एसियामै कुनै त्यस्तो देश छैन कि जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैंमा एउटा फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला । झन्डै ७ खर्ब रुपैयाँ त बजेटको डेफिसिट(घाटा) छ ।
पुँजीगत खर्च २० प्रतिशत मात्र हुने र विकास खर्च नहुने देशलाई भगवान्ले मात्र बचाउन सक्ने उनको भनाइ थियो । ‘पुँजीगत खर्च भए मात्र त्यहाँ रोजगारी सिर्जना हुन्छ, लगानी भित्रिन्छ र देश समृद्धिको बाटोमा अगाडि बढ्छ । यो एउटा सामान्य नागरिक लेम्यानले पनि बुझ्छ, तर म जस्तो एउटा अनुभवी सांसदले यो बुझ्न सकेको छैन,’ उनले भने ।
२० वर्षदेखि धेरै अर्थमन्त्रीका कुरा सुन्दै आएको पनि उनले बताए । बजेट आउनेतबित्तिकै नेपाल कायापलट नहुने पनि उनको भनाइ थियो । ‘हरेक अर्थमन्त्रीलाई लाग्छ कि बजेट आएको भोलिपल्टै नेपालको कायापलट हुन्छ, भोलिपल्टै नेपाल सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, जापान बन्छ । तर परिणाम ‘ढकको तीन पात’ जस्तै छ र हरेक साल ऋण मात्र थपिँदै गइरहेको छ ।’





