
हरितालिका (तीज) व्रतको तयारी स्वरूप तीजको अघिल्लो दिन मात्रै दर खाने परम्परा अहिले क्रमश लोप हुँदै महिनौ दिन सम्म दर खाने विकृति झाङगिंदै गएको छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन दर खाइन्छ । यस दिन माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध तागतिलो परिकार खाइन्छ । जसले व्रतका दिन भोक लाग्न दिदैन र शक्ती दिओस् ।
हरेक व्रतको आफ्नै साँस्कृतिक तथा मौलिक विशेषता रहेको हुन्छ । तीज आउनु पूर्व महिना दिन अघि देखि दर खाने चलनले गर्दा यसको साँस्कृतिक पक्ष ओझेलमा परिरेको छ । केही वर्ष देखी तीजको नाममा भडकिलो गतिविधि र छाडापन मौलाउदै गएको छ ।
गत वर्ष चर्चित पत्रकार ऋषी धमलाकी धर्मपत्नी एलिजा गौतमले तीजको दरखाने पार्टीमा अश्लील नृत्य प्रदर्शन गरेकी थिइन , उक्त नृत्य सामाजिक सञ्जालमा एकैछिनमा भाइरल भएपछि यसमाथि टिकाटिप्पणी नै सुरु भएको थियो । पछि यहीं नृत्यको सिको गर्दै एक महिला स्वयं सेविकाले समेत उक्त नृत्यको नक्कल गरेकी थिइन । यी यस्ता गतिविधिले समाजले कस्तो ? कुरालाई नियाली रहेको छ र समाज कस्तो दिशा तर्फ लम्कीरहेको छ , भनेर स्पष्ट हुन्छ ।
दर खाने कार्यक्रममा पनि गरगहना एवं पोशाक प्रदर्शन गर्ने,दरका नाममा विदेशी व्राण्डका रक्सी पिउने छाडा गीत बजाएर नृत्य गरेका भिडियोहरु अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने र भएकाले पनि विकृति रोक्न पहल नगर्दा तीज महंगो हुदै गएको छ ।
पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिना अघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भाकामा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ ।
चार्डपर्व , बिहे , व्रतबन्धमा यसरी परिवारको माँग धान्न स्वदेशको कमाइले नपुगेर वर्षौनी युवाहरु विदेशीन बाध्य छन् । स्वदेशमै बसेकाहरु कतिपयले पैसा कमाउन गलत बाटो रोजिरहेका छन् । चाडपर्व भडकिलो बनाउदा देशकै अर्थतन्त्रमा समेत अस्थीरता आएको छ । तयारी पोशाक ,श्रृंगारका सामान , गरगहना , जुता लगायतका सामानमा विदेशी बजारमै नेपाली व्यापारीहरु निर्भर रहदा देशको अर्थतन्त्रको ठूलो हिस्सा विदेशतिर पलायन हुन्छ । यसतर्फ सम्बन्धीत निकायले समयमै ध्यान दिन नसके नेपालका सबै मौलिक चार्डपर्वको साँस्कृतिक पक्ष धराशयी बन्ने अवस्थामा छ । साथै देशको अर्थतन्त्र चौपट हुंदा देश छिट्टै श्रीलंकाको बाट तर्फ जान बेर छैन ।