शर्मिला घिमिरे
बर्दिबास-१४ घर भएकी रुकमणी कोइरालाले बर्दिबास सहरमा अटो चलाउन थालेको १०वर्ष बढी भयो । साहुले तोकिदिएको पारिश्रमिकबाट चित्त नबुझेर अटो चलाउन सुरु गरेकी उनलाई "कति छिटो दिन बितेको जस्तो लाग्छ ।मैले अटो चलाउन सुरु गर्दा महिला अटो चालकखासै देखिँदैन थिए ।अहिले सडकमा धेरै महिलाहरूले अटो चलाएको देख्छु । खुसी लाग्छ।साहुले हेप्दै तोकेको पारिश्रमिक भन्दा आफ्नै काममा रमाउन सिक्नुपर्छ। समाजले महिलालाई पत्याउँदैन । "रुक्मणी भन्नुहुन्छ ।
"अरुको काम गर्न जाँदा हेपिनुपर्छ।उनीहरूले दिने पैसाभन्दा बढी किचकिच सहनुपर्छ।सधैँ काम नपाउने तनाव । समाजका धनी मानिसले काम गर्न मान्छे लगाउँछन्।त्यही धनी मान्छेले श्रमिकको ज्याला तोक्छन्। "रुक्मणीलाई चित्त बुझेको थिएन।
छोराछोरी पढाउनदेखि पारिवारिक अन्य दायित्वहरू पनि आफ्नो काँधमा आएपछि आफ्नै काम गर्ने निदो गरेकी उनले धेरै कामहरूको बारेमा सोचेपछि. मात्र अटो चलाउने निदो गरेकी हुन् "अटो चलाएकोमा खुसी छु।।दुई छोराछोरी पढाउन पुगेकै छ। आफूलाई खान लाउन पनि पुर्याएकै छु।आफ्नै काम आफ्नै खुसी ।श्रीमानको मृत्यु भएपछि के गर्ने ? कहाँ जाने जस्तो लाग्यो। छोराछोरी सानै जिम्मेवारी पुरै आफ्नो काँधमा आयो ।खुबै आत्तिए ।
सुरुसुरुमा अटो चलाउँदा कसैले केही भन्ने हुन् कि लाग्यो ।अटोको काम कहिलेकाहीँ सोचेको समयभन्दा फरक हुन्थ्यो। समाजको डर लाग्थ्यो।आफूलाई आफ्नो कर्तव्य पूरा गर्नु थियो । साहुको काम गर्नुभन्दा स्वरोजगार हुन मन थियो। समाजले को के गर्दैछ पनि हेर्दो रहेछ ।यही अटो चलाएको आम्दानीले छोरोले १२ सक्यो। छोरीले नौ पढ्दै छन् । दुई चार रुपैयाँ पनि बचाएकी छु।" रुकमणीले भन्नुभयो। ।

श्रम र ज्यालामा एकरूपता नपाएपछि भौतारिँदै सर्लाहीबाट रिता मगर पनि अटो चलाउनकै लागि बर्दिबास सहर पसेको बताउँछिन् ।" सर्लाहीबाट अटो चलाउनकै लागि बुढासँग बर्दिबास आएकी हुँ।अरुको काम गर्न जाँदा गाली खानुपर्ने ।मरीमरी काम गऱ्यो चित्तै नबुझाउने ।काम ठग्यो की भनेर शंका गर्ने।पैसा दिने लिने बेलामा सधैंको किचकिच ।तिमीहरूले कति काम गर्न सक्छौ र ? लाठे थाक्दैनन् । भनेको सुनेपछि दिक्क लाग्यो।"
आफै केही काम गर्ने निधो गरे । तरकारी व्यवसाय सुरु गरे ।तरकारी लिन लालबन्दी बजार पुगे सस्तो पाइन्छ । तरकारी व्यापार सुरु गरे ।राम्रै भयो । अर्काको काम गर्नुभन्दा कमाई पनि भयो काम पनि सिकियो। तरकारी व्यापार छोडेर अटो चलाउन सुरु गरे ।।खुसी छु ।कमाई पनि छ यस्तै त हो नि । छोराछोरीलाई पढाउने खर्च पुर्याएकी छु। धनी मान्छेहरूले गरिबको पीडा बुझेको हुँदैन। त्यही भएर बढी किचकिच गर्छन्। "रिता मगरले आफ्ना अनुभव सुनाउनुभयो।
"महिलाहरू कमजोर भन्छन् । हामी पुरुष भन्दा बढी नै काम गरेका छौं। उनीहरूभन्दा हामी नै बढी खट्नुपर्छ। उनीहरुले बाहिरको एक सरो काम गर्छन् भने हामी घर ,बालबच्चा सबै सम्हालेर काम गरेका छौं। ल भन्नुस् त को बढी काम गर्छ ।हाम्रो कामको न घरमा सही मूल्याङ्कन हुन्छ न त काम गरेको ठाउँमा नै ।हाम्रो श्रमको कतै पनि सही मूल्याङ्कन नहुनु श्रमिक महिलालाई हेपेको हो। " । ज्याला मजदूरी गरेर जीविको मार्जल गरेकी बर्दिबास -६ , की रानीमती बताउँछिन् ।
नेपालको संविधानको धारा ३३ र ३४ मा श्रम र श्रमिकको बारेमा व्याख्या गरेको छ । जसमा सुरक्षित कामको वातावरण ,सामान ज्याला ,सामाजिक सुरक्षा जस्ता श्रमिक हितका विषयहरू उल्लेख गरेको छ ।
वास्तविक गृह श्रमिक महिललाई कानुन थाहा छैन ।रोजी रोटी गुम्ने डरले उनीहरू कानुनका कुरा सुन्न र बोल्न डराउँछन् ।
"कानुन सुनेर के गर्नु ? साहुले भनेको मान्नै पर्छ ।यही काम पनि छुटे के गरौला ?छोराछोरीलाई भोक्कै राख्नु भन्दा होस् बरु जति दिन्छन् त्यति थाप्छु । जे काम आइ पर्छ त्यही गर्छु । आफ्नै काम गर्न मन त छ तर के गर्नु मसँग सम्पत्ति छैन । कसरी सुरु हुन्छ काम । दुःख त लाग्छ नी महिला र पुरुष कामदार भन्दा । पैसा पनि छुट्याएरै दिने हुन्। कहाँ पाइन्छ र एउटै पैसा । केटा मान्छेले ८सय कमाउछन् भने हामीले ४ सय ५ सय यस्तै लिने हो । महिलाले काम गर्दैनन भन्छन कोही पनि हाम्रो लागि बोल्न चाहदैनन् " ज्यालादारी गरेर परिवारसहित जीविको आर्जन गर्दै आएकी बर्दिबास वडा नम्बर छ कि अम्बिका ठाकुरले बताइन्।
"महिलाको सोच र आँट दुवैमा परिवर्तन आएको छ। महिलाहरु सक्षम बन्ने प्रयासमा हुनुहुन्छ। यस्तो बेलामा समाजले परिवर्तनलाई साथ दिन आवश्यक छ । कहीँ कतै हाम्रो समाज अझै पनि महिलालाई । निरुत्साहित गर्न खोज्छ । अझै पनि धेरै श्रमिकहरूले अधिकारको बारेमा सुनेका पनि छैनन् । उनीहरू परम्परागत ढङ्गमा नै चलेका छन्।त्यसैले चेतनाको स्तर माथि उठ्न सकेको छैन। साहुले तोकेकै ज्यालामा काम गरिरहेका छन् । " सामाजिक अभियन्ता उर्मिला कार्की बताउनुहुन्छ ।
पहिलेको भन्दा त महिलाहरूमा परिवर्तन आएको देखिन्छ ।बोल्न सक्ने महिलाहरू आउनुहुन्छ । उहाँहरूको सोच र आँट सुनेर खुसी लाग्छ ।महिलाहरू आफैं आएर आफ्ना योजना सहित सामान लिँदाखुसी लाग्छ। धेरै जसो गृहश्रमिक महिलाहरू नै आउनुहुन्छ ।" बालाजी सप्लायर्स बर्दिबासका अटो व्यवसायी शिव मेगल शर्माले भन्नुभयो। ।
आफू वरिपरिका आफ्ना महिला साथीहरू ।को पीडा सम्झिँदै रुक्मणी सुनाउनुहुन्छ" महिलाहरू आँट गरेर बाहिर निस्किन खोज्दैनन् । बल्ल बल्ल आँट गर बाहिर निस्किए भने पनि लगानी गरेर काम गर्न सक्दैन। बरु साहुकै काम गर्छन् चित्त नबुझाई नबुझाई । साहुको काम गरेर के हुन्छ आज काम गऱ्यो खायो। एकदिन काम गरेर दुई छाक खान पुग्ने हुँदैन ।
सामाजिक परम्परागत सोच , व्यावसायिक सीप ,ज्ञान र लगानीको अभाव जस्ता कुराले महिलाहरू अघि बढ्न सकेका छैनन्। हाम्रो समाजले अझै पनि महिलालाई कमजोर देखिरहेको छ त्यसैले निश्चिन्त भएर महिलालाई लगानी गर्न चाहँदैनन् ।महिला श्रमिकहरूले साहूको कामगर्दा पनि सम्मानजनक ज्याला र इज्जत पाएका हुँदैनन्। उनीहरुले गर्ने घरको कामको पनि मूल्याङ्कन भएको हुँदैन ।यस्ता महिलाहरूमा प्रोत्साहनको अभाव देखिन्छ। त्यसैले धेरैजसो गृहश्रमि क महिलाहरू मानसिक रूपमा कमजोर देखिन्छन् "मनोविज पद्म प्रसाद घिमिरेले भन्नुभयो।
श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको प्राप्त जानकारी अनुसार २०८१ साउन १ गतेदेखि लागू हुने गरी नेपाल सरकारले श्रमिकको न्यूनतम ज्यालादर १९ हजार ५५० रुपैया निर्धारण गरेको छ। यसमा आधारभूत पारिश्रमिक र महङ्गी भत्ता पनि समावेश गरेको छ भने उचित कामको वातावरण सामाजिक सुरक्षा जस्ता कुराहरू पनि समावेश भएका छन् ।
श्रमिक महिलाहरू वास्तवमै पीडित छन्। उनीहरूको न त एकिन तथ्याङ्क नै छ।न त ज्यालादर मा नै समानता छ । जलेश्वर नगरपालिका वडा नम्बर २ की कुमारी पासवानलाई नेपाल सरकारले श्रमिकको ज्याला तोकेको छ भन्ने थाहा नै छैन। उनले श्रमिकको ज्याला कानुनले तोकेको छ भन्दा पत्याउन सकिनन् । उनी भन्छिन्" साहुले दिने पारिश्रमिक कसरी सरकारले तोक्छ ? हामीलाई कति दिने भनेर हाम्रै साहुलाई थाहा छ । साहुले तोक्छन् हाम्रो पारिश्रमिक ।" ।




