धनुषाको जनकपुरधाममा जेसीबीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा महोत्तरीको मरासिसवा नगरपालिका–बथनाहाका ६५ वर्षीय विपिनकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियास्थित जनकपुर डिजल सेन्टरबाट तेल भरेर बाहिरिँदै गरेको जेसीबीमा महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।



जेसीबीमा ठोक्किएर गम्भीर घाइते भएका झालाई उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दुर्घटनामा संलग्न जेसीबीलाई वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





