जनकपुरधाम । मधेश प्रदेशसभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिको बैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।
समिति सभापति रुपा यादवको अध्यक्षतामा बसेको बैठकमा महिला अधिकार, बाल संरक्षण, सामाजिक न्याय तथा समावेशी विकाससँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको हो ।



बैठकमा समितिको आगामी कार्ययोजना, सरोकारवाला निकायसँगको समन्वय तथा नीतिगत सुधारका विषयलाई प्राथमिकताका साथ उठाइएको बताइएको छ ।
बैठकपछि सभापति यादवले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा समाजका पछाडि पारिएका समुदायका अधिकार संरक्षणका लागि समिति सक्रिय रूपमा काम गरिरहेको बताइन् । उनले प्रदेशसभाको समितिले सरकारका कार्यक्रमको प्रभावकारिता अनुगमन गर्नुका साथै आवश्यक सुझाव दिने कार्यलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
‘समाजमा रहेका विभेद, हिंसा र अन्यायका घटनालाई न्यूनीकरण गर्दै सामाजिक न्यायको प्रत्याभूति दिलाउनु हाम्रो प्रमुख दायित्व हो,’ सभापति यादवले भनिन्, ‘महिला तथा बालबालिकासँग सम्बन्धित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले निरन्तर खबरदारी गर्नेछ ।’
उनले सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई बलियो बनाएर नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन् ।
बैठकले विभिन्न विषयमा आवश्यक सुझाव संकलन गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।





