महोत्तरी - गौशाला–सम्सी सडक तथा हुलाकी राजमार्ग खण्ड औपचारिक रूपमा सडक विभागलाई हस्तान्तरण नहुँदा लामो समयदेखि जर्जर अवस्थामा रहँदै आएको छ। सडकको दयनीय अवस्थाका कारण यस क्षेत्रमा दैनिकजसो साना–ठूला सवारी दुर्घटना हुने गरेका छन्।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गौशाला नगर युवा संजालले सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरेको छ। हाल महेन्द्र राजमार्गदेखि गौशाला निगौल चौकसम्मको सडक खण्डमा मर्मत तथा खाल्डो पुर्ने काम भइरहेको संजालले जनाएको छ।

संजालका अध्यक्षका अनुसार प्राथमिकताका आधारमा सो खण्डमा काम सुरु गरिएको हो। आगामी दिनमा सम्सीसम्म सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कार्य विस्तार गर्ने योजना रहेको छ।

स्थानीयवासीहरूले नगर युवा संजालको यस पहललाई सकारात्मक रूपमा लिँदै सम्बन्धित निकायले शीघ्र सडक विभागलाई सडक हस्तान्तरण गरी दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

जर्जर सडकका कारण जनजीवन प्रभावित भइरहेका बेला स्थानीयस्तरबाट सुरु गरिएको यो प्रयासले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




