
ढल्केवर- धनुषाको ढल्केवरमा बन्ने भनिएको ट्रमा सेन्टरको प्रक्रिया थालिएको छ । अहिले ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गर्ने सुरु गरिएको छ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।
शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षण काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाका सबईन्जिनियर सुनिल ठाकुरले जानकारी दिए । आईतबार(भोली)सम्म माटो परीक्षणको कार्य सम्पन्न भइसक्ने उनले बताए ।
यसअघि जग्गा विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गालाई तत्कालिन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।
गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालिन शहरी विकासमन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर आएकी थिइन् । जग्गा निरीक्षण पश्चात उनले ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताएपछि जग्गा विवाद मत्थर भएको थियो ।
तत्कालिन मन्त्री झाँक्रीसँगै ढल्केवर आएका शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताएका थिए । उनले पनि यसै जग्गामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ्ने विश्वास दिलाएका थिए ।
शनिवार माटो परीक्षण सुरु गरिएको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो समेत पुगेका थिए । उनले सोही जग्गामा ट्रमा सेन्टर निर्माण हुने ठोकुवा गरे । उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल नहुने मेयर महतोले दावी गरे ।
ट्रमा सेन्टरका लागि मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, दारी ग्याङलगायतका पदाधिकारी तथा युवाहरुले चासो लिदैं आएका छन् ।
यसअघि स्थानीहरुले बुधेश्वर महतो र चन्देश्वर महतोको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ट्रमा सेन्टर बचाउका लागि सडक तताउँदै आनदोलन गरेका थिए । ढल्केवरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै उनीहरुले पटकपटक नगरपालिका घेराउ गर्दै स्थानीय सरकारलाई दबाब दिदैं आएका थिए ।