सुजाता राई
विराटनगर । अग्रज साहित्यकार तथा प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित ‘विचार, चिन्तन र तथ्य’ नामक पुस्तक विराटनगरस्थित एलिट क्लबको सभाकक्षमा आयोजित एक समारोहबिच जेष्ठ २९ शुक्रवार लोकार्पण गरिएको छ।



एलिट क्लबको आयोजना तथा छन्दवाटिका नेपाल विराटनगरको समन्वयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता आयोजक संस्था एलिस क्लवकी अध्यक्ष इन्दिरा कार्कीले गरेकी थिइन्। एलिट क्लवका महासचिव यज्ञ शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा क्लवकी सांस्कृतिक सचिव प्रमिला थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

पुस्तकमाथि प्रा.कृष्ण पोखरेल,चन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलले समिक्षा गरेका थिए भने अन्य वक्ताहरुले पनि कृति पठानीय विश्लेषणीय र यसले पाठकलाई गहन चिन्तनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
कार्यक्रममा लेखक प्रा. डा. गणेश क्षेत्रीले आफ्नो कृतिबारे धारणा राख्दै समाज, इतिहास, राजनीति तथा मानवीय चेतनासँग सम्बन्धित विषयलाई पुस्तकमा समेटिएको बताए।

प्रा. डा. क्षेत्री नेपाली साहित्य, इतिहास तथा सामाजिक अध्ययनका क्षेत्रमा स्थापित स्रष्टा हुन्। उनका नेपाल परिचय (२०३५), युरोपको इतिहास (२०३८), नेपालको इतिहास (२०६०), मानवशास्त्रका प्रमुख सिद्धान्त, मान्छेभित्रको मान्छे, भारतको नेपाल नीति तथा ओझेलका यथार्थहरू (२०७६) लगायतका कृतिहरू प्रकाशित छन्। नवप्रकाशित ‘विचार, चिन्तन र तथ्य’ उनको १६औँ कृतिका रूपमा सार्वजनिक भएको हो।
समारोहमा साहित्य, शिक्षा, समाजसेवा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वसहित ८३ जना स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पुस्तकले समसामयिक विषयवस्तुमाथि तथ्यपरक दृष्टिकोण प्रस्तुत गर्दै बौद्धिक विमर्शलाई समृद्ध बनाउने धारणा व्यक्त गरेका थिए।




