धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । सरकारको यो बजेट हालसम्मकै सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार बढाएको जनाइएको छ ।



प्रदेश सरकारले बजेट सार्वजनिक गर्नका लागि सुरुमा दिनको पाँच बजे प्रदेश सभाको बैठक बोलाइएको थियो तर सत्तारूढ दल नेकपा (एमाले) ले सिफारिस गरेका आयोजना, प्रदेश सभा सदस्यका क्षेत्रगत योजना र मन्त्रालयगत बजेट व्यवस्थापनका विषयमा असहमति जनाएपछि बैठक राति सारिएको थियो । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले भने मध्यराति बजेट प्रस्तुत गर्नु परेका कारण खोजी गर्दै सभाको बैठक बहिष्कार गरी बाहिरिएको थियो ।
यसअघि पहिलो बजेटका रूपमा प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब दुई करोड पाँच लाखको आंशिक बजेट ल्याएको थियो । यसै गरी आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब छ करोड ५६ लाख, आर्थिक वर्ष २०७६/७७ मा २९ अर्ब २३ करोड ३० लाख, आर्थिक वर्ष २०७७/७८ मा ३४ अर्ब ६४ करोड ३९ लाख रुपियाँ यो प्रदेशको बजेट रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३१ अर्ब १७ करोड ५६ लाख, आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ३३ करोड ८९ लाख, आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट प्रदेश सरकारले ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको थियो । सरकारको चालु आर्थिक वर्षको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।




