राम पुकार महतो (बिद्रोही)
रौतहटको गौर नगरपालिकाको एउटा कुनाकाप्चाको गल्लीबाट यो कथा सुरु हुन्छ। बिहानको करिब आठ बजेको होला, माघको कुहिरोले गाउँलाई छोपेको छ। एउटा पुरानो इँटाको घरको आँ्गनमा एउटा युवक मोबाइलको स्क्रिनमा आँखा गाडेर बसेको छ। उसको नाम सञ्जय महतो हो। उमेरले भर्खर तेइस वर्ष टेकेको छ, तर आँखामुनिको कालो घेरा र निधारको चाउरीले तीस नाघिसकेको भान हुन्छ। सञ्जयले गत वर्ष मात्र काठमाडौंको एउटा निजी कलेजबाट व्यवस्थापनमा स्नातक सकाएको हो। त्यसयता दिनहुँजसो उसको बिहानी यसरी नै बितिरहेको छ — अनलाइनमा रोजगारी खोज्दै, साथीहरूसँग ‘अपरच्युनिटी’बारे च्याट गर्दै, अनि आफूभित्रको अधुरोपनलाई मुस्कानले छोप्ने असफल प्रयास गर्दै। उसको परिवारको आर्थिक अवस्था कमजोर छ, बाबुले बैंकबाट ऋण निकालेर छोरालाई राजधानी पढ्न पठाएका थिए। सञ्जयको सपना थियो — कुनै बैंक वा बहुराष्ट्रिय कम्पनीमा म्यानेजर बन्ने, गाउँको स्कुलमा पढाउने, परिवारको गरिबीको चक्र तोड्ने। तर यथार्थले उसलाई आँगनको कुनामा थन्काइदिएको छ, जहाँ ऊ बेरोजगार युवाहरूको त्यो विशाल सेनाको एक सिपाहीमात्र हो, जो हरेक बिहान सपना देख्छ र हरेक रात आफैँभित्र मर्छ। मधेशको पहिचानको केन्द्रमा रहेको यो युवा पुस्ताको मनोविज्ञान बुझ्न सञ्जय एउटा प्रतीक हो। सञ्जयको यो कथा व्यक्तिगत मात्र होइन, यो त सम्पूर्ण मधेशको युवा शक्तिको सामूहिक नियति हो, जो आकांक्षा र निराशाको बीचमा पिसिएको छ, जो विकास र उपेक्षाको दोसाँधमा उभिएको छ, र जो आफ्नो पहिचान र भविष्यको लडाइँ एकसाथ लडिरहेको छ।



मधेशको भूगोल, इतिहास र सामाजिक संरचनाले यहाँका युवाको अवस्थालाई नेपालका अन्य भूभागभन्दा फरक ढंगले आकार दिएको छ। लामो समयदेखि राज्यको मूलधारको विकास र राजनीतिक शक्ति संरचनाबाट पाखा लागेको महसुस गरेको यो भूभागको पीडा र आक्रोशको सबैभन्दा बढी भारी बोक्ने पात्र यहाँका युवा नै हुन्। तर यो चित्रको एउटा पाटो मात्र हो। अर्को पाटोमा यिनै युवाहरूको अदम्य साहस, सिर्जनशीलता र परिवर्तनको आकांक्षा पनि उत्तिकै प्रबल छ। यो लेख यिनै विरोधाभासपूर्ण यथार्थहरूको विश्लेषण हो, जसले मधेशका युवाको वर्तमान स्थितिलाई बुझ्न र उनीहरूले बुनिरहेको भविष्यको रूपरेखा पढ्न मद्दत गर्नेछ। जब हामी शिक्षाको कुरा गर्छौं, मधेशको यथार्थ कहालीलाग्दो र आशालाग्दो दुवै छ। एकातिर विद्यालय तहमा साक्षरता दरमा उल्लेख्य सुधार भएको छ, जो राज्य र गैरसरकारी संस्थाहरूको दशकौंको प्रयासको प्रतिफल हो। गाउँ–गाउँमा सामुदायिक विद्यालयहरू खुलेका छन्, छात्रवृत्ति कार्यक्रमहरूले गरिब र दलित समुदायका बालबालिकालाई पनि पुस्तकसँग जोडेको छ। तथापि, यो शिक्षा कस्तो छ भन्ने प्रश्न गम्भीर छ। सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला छैनन्, पुस्तकालयमा पुस्तक छैनन्, र शिक्षकहरू अनियमित हुन्छन्। गुणस्तरीय शिक्षा भन्ने वस्तु महँगो निजी विद्यालयको सुविधा बनेको छ, जहाँ गरिबको पहुँच सीमित छ। यो दोहोरो संरचनाले युवाहरूको भविष्यलाई सानैदेखि निर्धारित गरिदिन्छ। सामुदायिक विद्यालयको उत्पादन कमजोर अंग्रेजी र आधारभूत सीपबिनाको हुन्छ, जसले प्रतिस्पर्धी बजारमा उसलाई जन्मजात पछाडि पार्छ। उच्च शिक्षामा आइपुग्दा मधेशका अधिकांश युवा कि त महँगा कुनै निजी कलेजको भीडमा हराउँछन्, कि त सीमित आर्थिक स्रोतका कारण पढाइ नै छोड्छन्। प्राविधिक शिक्षा र सीपमूलक तालिमको अवस्था झन् निराशाजनक छ। सरकारी तवरबाट सञ्चालित सीटीईभीटी कार्यक्रमहरू सीमित र गुणस्तरहीन छन्, र निजी क्षेत्रको तालिम महँगो। फलस्वरूप, शिक्षा र बजारबीचको खाडलले गर्दा हरेक वर्ष हजारौं युवा हातमा शैक्षिक प्रमाणपत्र बोकेर सडकमा आइपुग्छन्, तर उनीहरूसँग रोजगारी पाउने सीप र क्षमता हुँदैन। यो बेरोजगारीको जरा हो।
बेरोजगारी मधेशको युवा मानसिकतामा क्यान्सरझैं फैलिएको छ। मधेशको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ, तर कृषि आधुनिकीकरणको अभाव, भूमिको खण्डीकरण, मौसमी बाढी र बजारको अनिश्चितताले कृषिलाई आकर्षक पेशा बन्न दिएको छैन। युवाहरू खेतीलाई आफ्नो भविष्यको रूपमा हेर्न चाहँदैनन्, उनीहरूका लागि त्यो हारेको जुवा हो। औद्योगिक विकास नगण्य छ। वीरगन्ज र जनकपुर जस्ता केही क्षेत्रमा उद्योगधन्दाको केही आधार भए पनि तिनले ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकेका छैनन्। सेवा क्षेत्रमा पनि सीमित अवसर छ। यस्तोमा युवाको आकांक्षा र यथार्थबीचको द्वन्द्व अत्यन्त पीडादायी हुन्छ। एकातिर सामाजिक सञ्जाल र टेलिभिजनले देखाउने उपभोक्तावादी, सहरी र आधुनिक जीवनशैलीको सपना छ, अर्कोतिर गाउँको चौतारामा दिन काट्न बाध्य यथार्थ। यसले मानसिक तनाव, निराशा र पलायनको मनोविज्ञान जन्माउँछ। अनि पलायनको सबैभन्दा सहज बाटो बन्छ — वैदेशिक रोजगार। मधेशको हरेक घरको कथा खाडी मुलुक वा मलेसियामा रहेको एउटा छोरा वा दाजुभाइसँग जोडिएको छ। विदेशिएको युवाको रेमिट्यान्सले घर चलेको छ, बहिनीको बिहे भएको छ, ऋण तिरिएको छ। तर यो आर्थिक योगदानको पछाडिको मानवीय मूल्य अत्यन्तै क्रूर छ। शारीरिक र मानसिक शोषण, अमानवीय कामको अवस्था, र परिवारसँगको बिछोडको पीडा त छँदैछ, सबैभन्दा भयावह त विदेशको भूमिमा असमयमै ज्यान गुमाउने युवाहरूको संख्या हो, जो हरेक हप्ता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘काठको बाकसमा’ फर्किन्छन्। वैदेशिक रोजगारले मधेशको श्रमशक्तिलाई निर्यात गरेर अर्थतन्त्रलाई त धानेको छ, तर स्थानीय सामाजिक संरचनामा ठूलो क्षति पुर्याएको छ। गाउँमा सक्रिय पुरुष युवाको अभाव, एकल महिलाको संघर्ष, बालबालिकामा बाबुको मायाको अभाव , र एचआइभी–एड्स जस्ता रोगको जोखिम यसका केही नराम्रा पक्ष हुन्। सञ्जयका लागि यही वैदेशिक रोजगार नै अबको एकमात्र विकल्प जस्तो देखिन थालेको छ, यद्यपि उसको मन भने काठमाडौंमै अवसर खोज्न चाहन्छ।
राजनीतिक रूपमा मधेशको युवा शक्ति जहिले पनि निर्णायक र विद्रोही रहँदै आएको छ। मधेश आन्दोलनहरूको अग्रमोर्चामा यिनै युवा हुन्थे, जो सडकमा उत्रेर पहिचान, अधिकार र सम्मानका लागि लडे। तर विडम्बना के छ भने, राजनीतिक उपलब्धिहरूको फल चाहिँ सधैं स्थापित राजनीतिक दल र तिनका नेताहरूले नै उपभोग गरे। युवाहरू सडकबाट सत्ताको बार्दलीमा सीमित भूमिकामा सीमित रहे। मधेश केन्द्रित दलहरूमा पनि नेतृत्व हस्तान्तरणको प्रक्रिया अत्यन्तै कमजोर छ। शीर्ष नेताहरू दशकौंदेखि पदमा टाँसिएका छन्, र नयाँ युवालाई पार्टीभित्र अवसर दिने संस्कार विकसित भएको छैन। फलस्वरूप, राजनीतिप्रति युवाको आकर्षण घट्दो छ। एक समय थियो जब राजनीतिलाई परिवर्तनको सबैभन्दा प्रभावकारी औजार मानिन्थ्यो, तर आज युवाहरू यसलाई व्यक्तिगत स्वार्थ, भ्रष्टाचार र कुर्सीको खेलको पर्यायको रूपमा हेर्न थालेका छन्। यो निराशा खतरनाक छ, किनकि लोकतन्त्रलाई जीवन्त राख्न युवाको राजनीतिक सहभागिता र आलोचनात्मक चेतना अपरिहार्य छ। तथापि, यस निराशाबीच पनि केही सकारात्मक संकेत देखिन्छन्। स्थानीय तहका चुनावहरूमा युवा उम्मेदवारहरूको संख्या बढ्दो छ, र केही युवा स्वतन्त्र रूपमा उठेर जितेर पनि गएका छन्।अनि केन्द्रमा कथित युवाको सरकार । यसले संस्थागत राजनीतिलाई चुनौती दिन सक्ने नयाँ वैकल्पिक नेतृत्वको बीजारोपण भएको संकेत गर्छ। मधेशका युवाको राजनीतिक यात्रा अब पुराना पार्टीहरूको भर्याङ चढ्ने मात्र नभएर, नागरिक समाज, सामाजिक सञ्जाल र समुदायिक संगठनहरूमार्फत आफ्नै वैकल्पिक राजनीतिक स्थान बनाउनेतर्फ उन्मुख हुँदैछ।
सामाजिक विभेद र संरचनात्मक असमानताको सन्दर्भमा मधेशका युवाको अनुभव एकरंगको छैन। एउटै गाउँको दुई छिमेकी युवाको जीवन सम्भावना आकाश-पातलको फरक हुन सक्छ, त्यो फरक जाति, वर्ग, लिंग र क्षमताको आधारमा निर्धारित हुन्छ। दलित र मुसहर, डोम, चमार जस्ता अति सीमान्तकृत समुदायका युवा अझै पनि शिक्षा, स्वास्थ्य र रोजगारीको आधारभूत पहुँचका लागि दैनिक संघर्ष गरिरहेका छन्। जातीय विभेद कानुनी रूपमा अपराध भए पनि सामाजिक व्यवहारमा गहिरोसँग जरा गाडेर बसेको छ। गाउँको सार्वजनिक चौतारामा बस्न नपाउने, मन्दिरमा छिर्न नपाउने, र छुवाछुतको व्यवहार भोग्ने युवाको मनमा हीनताबोध र आक्रोश एकसाथ पलाउँछ। यो आक्रोशले कहिलेकाहीँ हिंसात्मक रूप लिन्छ त कहिले समाजको मूलधारबाट अझै टाढा धकेलिन पुग्छ। मुस्लिम समुदायका युवाले पनि एक विशिष्ट खालको सामाजिक र राजनीतिक बहिष्कारको सामना गर्नुपरेको छ। शैक्षिक रोजगारीका अवसरहरूमा अदृश्य धार्मिक पूर्वाग्रहको सामना गर्नुपर्ने उनीहरूको गुनासो छ, जसले आफ्नो नागरिक पहिचानप्रति नै द्विधा उत्पन्न गराउँछ। मधेशको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने यी युवाको जीवन भारतीय सीमा सुरक्षा बल र नेपाल प्रहरी दुवैको नजरमा ‘संदिग्ध’ रहने गर्छ, जसले उनीहरूको नागरिक जीवनलाई नै संकटग्रस्त बनाएको छ। यी विभिन्न प्रकृतिका असमानताहरूले मधेशको युवा समुदायलाई भित्रैदेखि विभाजित गरेको छ, जुन न्याय र समानताको राजनीतिक परियोजनाका लागि एउटा ठूलो बाधक हो।
मधेशकी युवा महिलाको अवस्था त यी सबै चुनौतीहरूको केन्द्रीकृत प्रतीक हो। पितृसत्तात्मक संरचनाले उनीहरूमाथि दोहोरो–तेहेरो दमन थोपरेको छ। शिक्षामा लैंगिक खाडल अझै व्यापक छ, विशेष गरी ग्रामीण क्षेत्र र मुस्लिम समुदायमा। कतिपय ठाउँमा बालविवाहको कुप्रथा अझै कायमै छ, जसले किशोरीको शारीरिक र मानसिक विकासमा गम्भीर असर पार्छ। शिक्षा हासिल गरेर पनि कार्यक्षेत्रमा प्रवेश गर्न चाहने महिला युवाका अगाडि सामाजिक अपेक्षाको एउटा पर्खाल खडा हुन्छ। परिवार र समाजले उसलाई रोजगारीभन्दा विवाह र घरगृहस्थीको जिम्मेवारीमा हेर्न चाहन्छ। मोबाइल चलाउने, एक्लै बजार जाने वा सामाजिक सञ्जाल प्रयोग गर्ने जस्ता सामान्य कुराहरू पनि उनको चरित्रमाथि प्रश्न उठाउने हतियार बन्न पुग्छन्। यो दमनकारी वातावरणका बाबजुद पनि मधेशका महिला युवाले विगत एक दशकमा जुन सामूहिक चेतना र प्रतिरोधको क्षमता प्रदर्शित गरेका छन्, त्यो असाधारण छ। शिक्षा, स्वास्थ्य र अधिकारको क्षेत्रमा काम गर्ने स्थानीय महिला समूहहरूको सञ्जाल व्यापक छ। अल्पसंख्यक र दलित समुदायकी महिला युवा नै अहिले सामाजिक परिवर्तनको सबैभन्दा मुखर र सचेत अभियन्ता बनेकी छन्। उनीहरू केवल आफ्नो अधिकारको कुरा गर्दैनन्, बरु जाति, वर्ग र लिंगका अन्तरसम्बन्धित उत्पीडनहरूविरुद्ध सामूहिक लडाइँको नेतृत्व गरिरहेका छन्।
यी गहन संरचनात्मक चुनौतीहरूको बीचमा पनि डिजिटल प्रविधिले मधेशका युवाका लागि आशाको एउटा नयाँ झ्याल खोलेको छ। सस्तो स्मार्टफोन र डाटाको पहुँचले युवाहरूको दुनियाँ बदलिदिएको छ। सामाजिक सञ्जाल, विशेषगरी टिकटक, फेसबुक र युट्युब, युवा अभिव्यक्तिको सबैभन्दा प्रभावशाली माध्यम बनेका छन्। परम्परागत सञ्चार माध्यमबाट स्थान नपाएका मधेशका प्रतिभा, पीडा र आवाजहरू यी प्लेटफर्महरूबाट विस्फोटक रूपमा बाहिर आइरहेका छन्। एउटा सिमान्तकृत दलित बस्तीको युवक आफ्नो मोबाइलबाटै हजारौंलाई हँसाउन वा सचेत गराउन सक्छ। एउटी ग्रामीण महिला युवाले आफ्नो गीत, कविता वा समस्या संसारभर पुर्याउन सक्छिन्। यो डिजिटल क्रान्तिले सूचनाको असमान पहुँचलाई तोडेको छ र युवालाई आत्मनिर्भरताको एउटा बाटो देखाएको छ। तर, यसले सिर्जना गरेका नयाँ चुनौती पनि छन्। गलत सूचनाको प्रसार, अनलाइन हिंसा, र डिजिटल साक्षरताको अभाव गम्भीर समस्या हुन्। अझ, डिजिटल अवसरहरूको असमान वितरणले पनि नयाँ खालको विभेद सिर्जना गरेको छ। गरिबी र लैंगिक असमानताका कारण जसको पहुँच प्रविधिमा छैन, ऊ दोहोरो रूपमा पछाडि पर्ने खतरा छ। तैपनि, समग्रमा प्रविधिले युवालाई एउटा यस्तो शक्ति दिएको छ, जसले परम्परागत शक्ति संरचनालाई चुनौती दिन सक्छ।
उद्यमशीलता मधेशका युवाका लागि अर्को आशाको किरण हो। परम्परागत रोजगारीको सीमिततालाई चिर्दै अहिले धेरै युवाले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरिरहेका छन्। कृषि क्षेत्रमा नै आधुनिक र व्यावसायिक खेतीतर्फ रुझान बढेको छ। कतिपय युवा समूह मिलेर सहकारीमार्फत डेरी, माछापालन, तरकारी खेती वा मौरीपालन जस्ता व्यवसाय सञ्चालन गरिरहेका छन्। प्राविधिक सीप सिकेर सहरी क्षेत्रमा साना मर्मत पसल, ब्युटी पार्लर वा होटल खोल्ने प्रवृत्ति पनि बढेको छ। तर, यो उद्यमशीलताको बाटो पनि काँडैकाँडाले भरिएको छ। पूँजीको अभाव, बैंकबाट ऋण लिने जटिल प्रक्रिया, र धितोको अभाव मुख्य समस्या हुन्। सरकारी अनुदान र तालिम कार्यक्रमहरू राजनीतिक पहुँचका आधारमा वितरण हुन्छन्, वास्तविक आवश्यकता र प्रतिभाका आधारमा होइन। फेरि, व्यवसाय गर्नु सामाजिक रूपमा पनि जोखिमपूर्ण छ, किनकि असफलताको भयले धेरै युवा र उनका परिवारले जोखिम मोल्न चाहँदैनन्। तर यिनै संघर्षहरूबीच सफल भएका उद्यमीहरू गाउँका नयाँ रोल मोडेल बनेका छन्। उनीहरूले देखाएका छन् कि विदेश नै एकमात्र विकल्प होइन, स्वदेशमै केही गर्न सकिन्छ, र यो संदेश अरू युवाका लागि अत्यन्त महत्त्वपूर्ण छ।
यी सबै बाह्य संघर्षहरूले युवाको भित्री संसार, अर्थात् मानसिक स्वास्थ्यमा पारेको असरबारे भने धेरै कम बहस हुन्छ। मधेशको सामाजिक परिवेशमा मानसिक स्वास्थ्यलाई अझै पनि कमजोरी, पागलपन वा भूतप्रेतको कारण मान्ने अन्धविश्वास व्याप्त छ। निराशा, डिप्रेसन र एन्जाइटी भोगिरहेको युवकसँग आफ्नो पीडा बाँड्ने न त कुनै सुरक्षित स्थान हुन्छ, न त परामर्शदाता। उसको तनाव परिवारको आर्थिक दायित्व, बेरोजगारीको लाज, सामाजिक अपेक्षाको बोझ र भविष्यप्रतिको अनिश्चयबाट उत्पन्न भएको हुन्छ। यस तनावको परिणति कहिलेकाहीँ लागूऔषध दुर्व्यसनमा हुन्छ, कहिले हिंसामा, र कहिलेकाहीँ सबैभन्दा दुःखद रूपमा आत्महत्यामा। मधेशमा युवा आत्महत्याको दर बढ्दो छ, र यो एउटा मूक महामारीको रूप लिइरहेको छ। तर, आशाको कुरा के छ भने, यो मौनतालाई तोड्ने प्रयासमा केही युवा समूह र सामाजिक संस्थाहरू अगाडि आएका छन्। अनलाइन परामर्श, हेल्पलाइन र सचेतनामूलक अभियानहरूले मानसिक स्वास्थ्यलाई सार्वजनिक बहसको विषय बनाउन थालेका छन्, जो आफैँमा एउटा ठूलो सामाजिक परिवर्तनको संकेत हो।
यसैगरी, जलवायु परिवर्तनको संकटले मधेशका युवाको जीवनलाई नयाँ र जटिल ढंगले प्रभावित पारिरहेको छ। मधेश जलवायुजन्य विपत्तिहरूको चपेटामा सबैभन्दा बढी पर्ने क्षेत्र हो। हरेक वर्षको वर्षायाममा आउने बाढी र डुबानले गरिब र सीमान्तकृत समुदायको घर, खेत र जीविका बगाएर लैजान्छ। यसले सिर्जना गर्ने आर्थिक अस्थिरताले युवाको पलायनलाई अझै बढावा दिन्छ। बाढीपछिको रोग, खाद्य असुरक्षा र पुनर्स्थापनाको अभावले एक पूरै पुस्ताको शारीरिक र मानसिक विकासमा असर पार्छ। तर, चाखलाग्दो पक्ष के छ भने, यिनै युवाहरू अहिले जलवायु न्यायको अभियानका अगुवा बन्न थालेका छन्। स्थानीय तहमा विपद् व्यवस्थापन, नदी कटान रोकथाम र पुनर्स्थापनाका अभियानहरूमा युवा स्वयंसेवकहरूको सक्रियता बढेको छ। उनीहरूले जलवायु परिवर्तनलाई केवल प्राकृतिक प्रकोपका रूपमा मात्र होइन, बरु सामाजिक न्यायसँग जोडिएको राजनीतिक मुद्दाका रूपमा उठाउन थालेका छन्। यसले जलवायु संकटका मूल कारणहरूप्रति प्रश्न गर्ने एउटा नयाँ सचेत पुस्ताको जन्म भएको संकेत गर्छ।
यसरी हेर्दा, मधेशका युवा एकीकृत रूपमा न त पीडितमात्र हुन्, न त नायकमात्र। उनीहरू यी दुई ध्रुवको बीचमा उभिएर जीवनको अर्थ खोजिरहेका यात्री हुन्। उनीहरूको निराशा र पलायनको कथामात्र सुनाएर हामी अन्याय गर्छौं, तर उनीहरूको सिर्जनशीलता र संघर्षलाई नदेखेर पनि हामी चुक्छौं। मधेशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको सम्पूर्ण सम्भावना यिनै युवाको शक्तिमा निर्भर छ। उनीहरूको साहस, उनीहरूको आक्रोश र उनीहरूको सपनामा नयाँ नेपालको बीज निहित छ। मधेशको माटो जस्तै, जो हरेक बाढीपछि अझै उर्वर भएर आउँछ, यी युवाहरू पनि हरेक संकट र उपेक्षापछि अझै दृढ र सचेत भएर उभिरहेका छन्। गौर गाउँको सञ्जय अझै मोबाइल हेर्दै अवसर खोजिरहेको छ, तर उसको आँखामा अब एक नयाँ चमक छ। किनकि ऊ जान्दछ कि ऊ एक्लो छैन, र उसको जीवनको अर्थ कुनै ठूलो सामूहिक परिवर्तनको हिस्सा बन्नु हो। उसको यात्रा मधेशको हरेक गाउँ, हरेक चोक र हरेक सपनाको कथा हो। यो कथा पीडाको हो, तर पराजयको होइन। यो संघर्षको कथा हो, जसको अन्तिम अध्याय अझै लेखिइरहेको छ, र त्यो अध्याय मधेशका युवाहरूले आफैँलेख्ने छन्। सामाजिक न्याय, आर्थिक स्वतन्त्रता र राजनीतिक सम्मानको आधारशिलामा उभिएर, उनीहरू नै एक दिन यस भूभागलाई केवल नेपालको अन्नभण्डार मात्र नभएर, देशकै सपनाको नयाँ राजधानी बनाउने छन् भन्ने विश्वास नै हाम्रो सबैभन्दा ठूलो लगानि हो।




