जनकपुरधाम । धनुषाको वटेश्वर गाउँपालिका–१ चित्रपुरमा तीनदिने आँप महोत्सव २०८३ शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीय स्तरमा उत्पादित आँपको प्रवर्द्धन, बजारीकरण तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।



वटेश्वर गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तथा चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न जातका आँपका ४० वटा स्टल राखिएका छन् ।

महोत्सवमा बमई, माल्दह, दशहरी, जर्दा, गुलाव खास, आम्रपाली, आम्रमल्लिका, केर्वा, सिपिया, फैजली र सिनुरिया लगायतका लोकप्रिय जातका आँप प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आँप खेतीलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन प्रशोधन उद्योगको विकास आवश्यक रहेको बताए ।
उनले आँपबाट जुस, अचार, पल्पलगायतका विभिन्न उत्पादन तयार गरी स्वदेश तथा विदेशका बजारमा निर्यात गर्न सकिने उल्लेख गर्दै यस क्षेत्रमा उद्योग स्थापना र प्रवर्द्धनका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री यादवले यस्ता महोत्सवले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने तथा कृषकलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीप महतोको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा, वटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार महोत्सव अवधिभर आँपको प्रदर्शनी तथा बिक्रीसँगै कृषक, व्यवसायी र उपभोक्ताबीच अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
महोत्सवले धनुषालाई आँप उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न तथा कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।




