महोत्तरी – भूमि समस्या समाधान आयोगले लगत संकलनका आधारमा प्राथमिकता निर्धारण गरी अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढाइरहेका बेला महोत्तरीको बर्दिवास नगरपालिकाले भने ‘सेतो लालपुर्जा’ (सेतो निस्सा) वितरण गर्ने तयारी थालेको छ । हालको कानुनी व्यवस्था र कार्यविधिअनुसार पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व अहिलेको सरकारले तत्काल प्रदान गर्न नसक्ने निष्कर्ष निकाल्दै नगरपालिकाले कम्तीमा भोगाधिकारको प्रमाणका रूपमा सेतो निस्सा वितरण गर्ने योजना अघि सारेको हो ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले संघीय सरकारबाट सुकुम्बासीहरुलाई उठिबास लगाउने गरि गरिएको पछिल्लो क्रियाकलापले सिर्जना गरेको त्रासबाट अव्यवस्थित बसोबासीलाई राहत दिन सेतो निस्सा वितरण गर्न लागिएको बताए । ‘विवादित क्षेत्रबाहेक अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीहरूको लगत प्रविष्ट भइसकेको छ,’ नगरप्रमुख क्षेत्रीले भने, ‘नापनक्सालगायत आवश्यक तयारी पूरा भएकाले त्यही आधारमा सेतो निस्सा वितरण गरी नागरिकलाई त्रासमुक्त बनाउने हाम्रो योजना हो ।’



नगरपालिकाले यसअघि नै भूमि समस्या समाधान आयोगसँग समन्वय गरी नगरभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको छ। अब सोही विवरणका आधारमा सेतो निस्सा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
यसैबीच, महोत्तरी जिल्लाको भूमि समस्याबारे सोमबार सर्वदलीय बैठक समेत बसेको थियो। बैठकले हालसम्म संकलित लगतलाई आधार मानी तथ्यांक अद्यावधिक गर्ने तथा जहाँ लगत प्रविष्टको काम बाँकी छ, त्यहाँ त्यसलाई निरन्तरता दिने निष्कर्ष निकालेको बैठकमा सहभागीहरूले बताएका छन् । बर्दिवास नगरपालिकाको सेतो निस्सा वितरण योजनाबारे भने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष इन्द्रदेव यादवले आफूहरूको प्रत्यक्ष संलग्नता नरहेको बताए ।
‘नगरपालिकाले सेतो निस्सा वितरण गर्ने विषय हाम्रो कार्यक्षेत्रभित्र पर्दैन,’ उनले भने, ‘हामी भने आयोगको कार्यविधिअनुसार नै प्रक्रिया अघि बढाउँछौं ।’ भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार महोत्तरीमा सबैभन्दा धेरै अव्यवस्थित बसोबासी र भूमिहीन परिवार बर्दिवास नगरपालिकामा रहेका छन्। यहाँ १० हजार २ सय ९८ घरपरिवारको लगत प्रविष्ट भएको छ ।
त्यस्तै गौशाला नगरपालिकामा ३ हजार ८ सय २३, लोहारपट्टी नगरपालिकामा १ हजार ९ सय ६५, भंगाहा नगरपालिकामा १ हजार ७ सय ९३, औरही नगरपालिकामा १ हजार ६ सय ५९, सम्सी गाउँपालिकामा १ हजार ६ सय १६, बलवा नगरपालिकामा १ हजार ४ सय ३२, मटिहानी नगरपालिकामा १ हजार ४ सय १५, जलेश्वर नगरपालिकामा १ हजार १ सय ९३, एकडारा गाउँपालिकामा ६ सय २२, रामगोपालपुर नगरपालिकामा ५ सय ८३, महोत्तरी गाउँपालिकामा ५ सय ७८, मनरा शिसवा नगरपालिकामा ५ सय २३, सोनामा गाउँपालिकामा २ सय ४८ तथा पिपरा गाउँपालिकामा १ सय ४४ घरपरिवारको लगत प्रविष्ट भएको आयोगको तथ्यांकमा उल्लेख छ ।




