महोत्तरी- गौशाला नगरपालिकाकी उप–प्रमुख रेणु कुमारी महतोले नगरप्रमुख डा. दिपेन्द्र महतोविरुद्ध गम्भीर आरोप लगाउँदै सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गरेकी छिन्। एक प्रेश विज्ञप्ति जारी गर्दै उप–प्रमुख महतोले आफूमाथि नियोजित रूपमा अपमानजनक व्यवहार गरिएको, कार्यकक्षसम्म पहुँचमा रोक लगाइएको र नगरपालिकाको कामकाज पारदर्शी नभएको आरोप लगाएकी हुन्।
उनले भनिन्, "हाम्रो देश गणतन्त्रमा प्रवेश गरिसक्दा पनि नगरप्रमुखको व्यवहार २००७ सालअघिको राणा शासनझैं भइरहेको छ।"

महतोका अनुसार नगरपालिकामा भएको योजना, बजेट तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम नभएको, प्रमुख प्रशासकीय अधिकृतलाई मानसिक दबाब दिइएको, र अनियमितता लुकाउन योजनाबद्ध प्रयास भएको छ। "तीन–चार महिनासम्म अधिकृतहरू टिक्न नसक्नु यसको ठोस प्रमाण हो," उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।
महतोले हालसम्मको खर्च विवरण सार्वजनिक नगरिएको, योजना किताब लुकाइएको र उपभोक्ता समितिहरू गठनमा आर्थिक चलखेल भएको आरोप लगाइन्। उनले असार १ गतेपछि उपभोक्ता समितिबाट आधा–अधुरो काम गराइएपछि सम्झौता माग्दा आफूले कार्यालयको दर्ता–चलानी किताब पनि बुझेर प्रमाण खोज्ने प्रयास गर्दा, उल्टै नगर प्रमुखको निर्देशनमा नगर प्रहरीमार्फत आफूलाई रोकिएको, अपमानित गरिएको र हिंसात्मक व्यवहार भएको दाबी गरेकी छन्।

उनको भनाइ अनुसार, "प्रमुख प्रशासकीय अधिकृतलाई जवाफ माग्न खोज्दा मलाई नै हटाइयो, र महिलाहरु प्रयोग गरेर कार्यकक्ष घेराबन्दी गरियो।"
सहमति पनि कार्यान्वयन भएन
महतोले जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएका ३ बुँदे सहमति समेत नगर प्रमुखले तोडेको आरोप लगाएकी छिन्। "सहमति अनुसार नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने थियो, तर उपप्रमुख नै कार्यक्रमबाट बहिष्कृत गरियो," उनले भनिन्।
आन्दोलनको चेतावनी
नगरप्रमुखको रवैयाले जनताको मत र विश्वासको अपमान भएको भन्दै उप–प्रमुख महतोले न्यायिक निकाय, राजनैतिक दल र सर्वसाधारणसँग ऐक्यबद्धताको आह्वान गरेकी छन्। "यदि तत्कालै समाधान भएन भने कडा आन्दोलनात्मक कार्यक्रम अघि बढाइनेछ," महतोले चेतावनी दिइन्।
उनले अख्तियार अनुसन्धान आयोगमा उजुरी दिएका प्रमाणसहित बुझाइसकेको जानकारी दिँदै समग्र प्रकरणमा छानबिनको माग गरेकी छन्।




