जनकपुरधाम । सम्पन्न भइसकेका तथा अन्तिम चरणमा रहेका विकास आयोजनाको भुक्तानी रोकिएको विरोधमा निर्माण व्यवसायी सङ्घ धनुषाले बुधबार पूर्वाधार विकास कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा तालाबन्दी गरेको छ।
आर्थिक वर्षको अन्तिम दिनसम्म पनि सम्पन्न भएका योजनाको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा निर्माण व्यवसायीसँगै केही उपभोक्ता समितिका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।



निर्माण व्यवसायी सङ्घ धनुषाका पूर्वमहासचिव विनोद कर्णले सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएका आयोजनाको समेत भुक्तानी रोकिँदा निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको बताए।
उनका अनुसार सडक, भवन, सिँचाइलगायत विभिन्न पूर्वाधार आयोजनाको निर्माण सम्पन्न भए पनि भुक्तानी रोकिँदा बैंक ऋण तिर्न, बैंक ग्यारेन्टी नवीकरण गर्न, मजदुरको पारिश्रमिक दिन तथा निर्माण सामग्री आपूर्तिकर्ताको रकम भुक्तानी गर्न कठिनाइ भइरहेको छ।
सरकारले सम्पन्न कामको समयमै भुक्तानी नगर्दा निर्माण व्यवसायीहरूको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले रोकिएको रकम तत्काल निकासा गरी समस्या समाधान गर्न सरकारसँग माग गरे।
यता, पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी तथा उपभोक्ता समितिले कार्यालयमा तालाबन्दी गरेपछि नियमित प्रशासनिक कामकाज प्रभावित भएको बताए।
उनका अनुसार गैरआवासीय भवन निर्माण शीर्षकअन्तर्गत पूर्वस्वीकृति नलिइएको विषय उल्लेख गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानी रोक्न पत्राचार गरेको हो।
अर्थ मन्त्रालयबाट आवश्यक ‘बाधा अड्काउ फुकुवा’ सम्बन्धी निर्णय प्राप्त भएपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउन सकिने जानकारी प्राप्त भएकाले हालका लागि भुक्तानी रोकिएको प्रमुख साहले स्पष्ट पारे।
निर्माण व्यवसायीहरूले भुक्तानी विवाद तत्काल समाधान नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।




