जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालत जनकपुरले कैद सजाएर घटाएको फैसला गरेर राहत दिएको छ। उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै शर्मालाई पाँच वर्ष कैद सजाय सुनाएको छ भने यस अघि सफाइ पाएका एमालेका पूर्वसांसद लक्ष्मी महतो (कोइरी) र पवन कापरलाई समेत ५ वर्षको कैद सजाय सुनाएको छ ।
करिब अढाई वर्षसम्म चलेको सुनुवाइका क्रममा ५०औँ पेशीमा बुधबार फैसला सुनाइएको हो। यसअघि ४९ वटा पेशी विभिन्न कारणले स्थगित भएका थिए।



तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता रहेका शर्मा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि फरार रहदै आउनु भएको थियो। उक्त फैसलापछि मधेश प्रदेशसभाले उहाँलाई निलम्बन गरिसकेको छ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरले तीन जनाको हकमा जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैद नै कायम गरेको छ भने चार जनाको सजाय घटाएर जनही पाँच वर्ष कैद कायम गरेको छ।
उच्च अदालतको फैसलाअनुसार संजय साह, मोहन ठाकुर र प्रदीप रायको जन्मकैद सजाय यथावत् रहेको छ। यस्तै, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको जन्मकैद सजाय उल्टाउँदै जनही पाँच वर्ष कैद सजाय तोकिएको छ। त्यसैगरी यस घटनामा महोत्तरी क्षेत्र नं १ का पूर्व सासद लक्ष्मी महतो कोइरी र पवन कापरलाई जिल्ला अदालत महोत्तरीले २०८० मंसीर २८ गते आरोपित कसुरबाट सफाइ दिएकोमा मुलुकी एेन ज्यान सम्बन्धीको १७(२) बमोजिम जनही ५-५ वर्ष कैद तोकिएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको बुधवारको संयुक्त इजलासले उक्त फैसला सुनाएको अदालतका प्रवक्ता उप–रजिस्ट्रार शम्भु भुजेलले जानकारी दिनुभयो।
जिल्ला अदालतको फैसलाविरुद्ध अभिराम शर्माका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा पुनरावेदन दायर गर्नुभएको थियो। त्यसैगरी रामशंकर मिश्रका तर्फबाट उहाँकी श्रीमती संगीता कुमारी शर्मा, सुरेश पाण्डेका तर्फबाट उहाँकी छोरी प्रियंका पाण्डे तथा धर्मेन्द्र रायका तर्फबाट उहाँका दाजु अरविन्द कुमार रायले पनि पुनरावेदन निवेदन दर्ता गर्नुभएको थियो।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते ड्युटीका लागि महोत्तरीको सदरमुकाम जलेश्वर पुगेका सशस्त्र प्रहरीका असई थमन विकमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए। आन्दोलनकारी आक्रमणबाट घाइते विकको जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर ल्याइँदै गर्दा सोनउखरा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर कुटपिट गरिएको थियो। सोही घटनामा गम्भीर घाइते भएका विकको मृत्यु भएको थियो।






