महोत्तरी – उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर गरेपछि नेकपा (एमाले) का नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
महोत्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका–५ स्थित नेकपा (एमाले) को पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरिएको हो।



यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। सोही फैसलाको कार्यान्वयनका क्रममा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो।
सोही मुद्दामा उच्च अदालतले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ।यस्तै, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा महोत्तरी जिल्ला अदालतले गरेको जन्मकैद सजायलाई उच्च अदालतले सदर गरेको छ।




