जनकपुरधाम । बजेट संशोधनको माग गर्दै मधेश प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले संयुक्त रूपमा विरोध जनाउँदै बैठक सञ्चालन हुन दिएका छैनन् ।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले प्रस्तुत गरेको बजेट विकासमुखी नभई टुक्रे योजनामा केन्द्रित रहेको आरोप लगाए । एक करोड रुपैयाँका योजनाको नाममा साना साना कार्यक्रम समेटेर बजेट ल्याइएको भन्दै उनले यस्तो प्रवृत्तिले संघीय शासन व्यवस्थाप्रति जनविश्वास कमजोर बनाउने दाबी गरे ।



उनले बजेटमा आवश्यक संशोधन नगरेसम्म प्रतिपक्षी दलहरूले सदन सञ्चालन हुन नदिने स्पष्ट चेतावनी दिए ।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै बजेट संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोर्होयाए । यीमध्ये कुनै एक माग पूरा नभएसम्म सदन चल्न नदिने उनको अडान थियो ।
प्रतिपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको घोषणा गरे ।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको थियो । त्यसदिन १० मिनेटका लागि बैठक स्थगित गरिए पनि पुनः सञ्चालन हुन सकेको थिएन ।
लगातार दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध भएपछि मधेश प्रदेशको बजेटमाथिको संसदीय प्रक्रिया अन्योलमा परेको छ । बजेट विवाद समाधानका लागि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास भए पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन ।




