जनकपुरधाम- दसैंको आठौं दिन जनकपुर सहित आसपासको क्षेत्रका शक्तिपीठहरूमा खोइँच भर्ने तथा लड्डु चढाउने कार्यक्रम धुमधाम साथ चलि रहेको छ ।
खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।




बुधबार बिहानसम्म हजारौं मिथिलाका नारीहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् भने हजारौंको संख्यामा लाम लागेर पालो पर्खि रहेका छन् ।

त्यसैगरी लड्डु (पसाद) चढाउने बीच तछामछाड भईरहेको छ । अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ ।

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालीहरु खोइँच भर्ने गर्दछन् ।

मिथिलामा माता दुर्गाको ‘खोंइछ’ भर्ने विधि निकै पौराणिक हो। सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोंइछ’ भर्ने गर्दछन्। यसवर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोंइछ’ भर्ने पण्डितहरू बताउँछन्।

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोंइछ’ दिने गरिन्छ। ‘खोंइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दुर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ। ‘खोंइछ’ भर्दा धनधान्यको प्राप्ती हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहे अनुसार मिथिलानीहरु दुर्गामाताको खोइँच भर्ने गर्दछन् ।





