महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीका स्थानीयले शनिबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध गरि आन्दोलन थालेका छन्। आन्दोलनका कारण सिन्धुली–बर्दिबास सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ भने सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
स्थानीयले आन्दोलनको क्रममा भएको सहमती विपरीत दर्ता गरिएको आपराधिक उपद्रवसम्बन्धी मुद्दा तत्काल फिर्ता हुनुपर्ने माग राख्दै सडकमा उत्रिएका हुन्। चक्काजामका कारण बर्दिबास हुँदै काठमाडौं तथा पूर्वी जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन लामो समयदेखि रोकिएका छन्।



गत जेठ ११ गते डिभिजन वन कार्यालयका कर्मचारी वन अतिक्रमण हटाउने सूचना लिएर कालापानी पुगेका बेला स्थानीयसँग विवाद भएको थियो। त्यसक्रममा स्थानीयले वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिनुका साथै बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए।

उक्त घटनापछि प्रहरीले वडा नं. ३ का वडा अध्यक्ष विराट बिष्टसहित चार जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरेको छ। स्थानीयले भने प्रशासनसँग भएको पूर्वसहमतिविपरीत मुद्दा दर्ता गरिएको दाबी गर्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने अडान राखेका छन्।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले कालापानी घटनामा संलग्न रहेको आरोपमा असार १९ गते मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले मुद्दाको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि बिहानदेखि नै सडक खुलाउने प्रयास भइरहेको बताए।
प्रहरीका अनुसार अनुसन्धान प्रक्रियामा रहेको मुद्दा कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता लिन सकिने अवस्था छैन। यद्यपि, आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबीच छलफल जारी रहेको छ।

यसअघि पनि समस्या समाधानका लागि बर्दिबासमा पटक–पटक सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको थियो। तर मुद्दा फिर्ताको मागमा सहमति जुट्न नसकेपछि स्थानीयले पुनः सडक आन्दोलन थालेका हुन्।
राजमार्ग अवरुद्ध भएपछि सुरक्षा निकायले वैकल्पिक उपायसहित सडक खुलाउने प्रयास जारी राखेको छ भने आन्दोलनकारीले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।





