धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा बिहेको रथ अनियन्त्रित हुँदा किचिएर एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गएराति मटकोर विधि सञ्चालन भइरहेको थियो। सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को बिहेको रथको ब्रेक अचानक फेल भएपछि रथ अनियन्त्रित भई नाचिरहेका स्थानीयवासीको समूहमा पसेको थियो।



दुर्घटनामा स्थानीय संजय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया र बिकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते हुनुभएको थियो। उहाँहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ।
उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।
घाइते कवितादेवी मुखियाको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकोले थप उपचारका लागि न्युरो अस्पताल, जनकपुरधाम रेफर गरिएको उहाँले बताउनुभयो।
प्रहरीले दुर्घटनामा संलग्न बिहेको रथ नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि चालक फरार रहेकाले उहाँको खोजी भइरहेको तथा दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।




