धनुषा,बटेश्वर- बटेश्वर गाउँपालिकाका युवाहरूको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको “उडान: बटेश्वर युवा कार्यक्रम २०८३ – युवा नेतृत्व तथा क्षमता अभिवृद्धि कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। बटेश्वर युवा सञ्जालको आयोजनामा सम्पन्न दुई दिने कार्यक्रममा ८५ जना युवा सहभागी भएका थिए भने कार्यक्रमको अवलोकन तथा उत्साहवर्द्धन गर्न १०० भन्दा बढी आगन्तुक सहभागी भएका थिए।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, नेपालको संविधान तथा संघीय शासन प्रणाली, स्थानीय सरकार, निर्वाचन प्रणाली, नागरिक सहभागिता, व्यक्तिगत तथा व्यावसायिक विकास (CV, Email तथा Interview Skills), कृत्रिम बुद्धिमत्ता (AI) तथा समुदायमा आधारित परियोजना विकासलगायत विषयमा विशेषज्ञ सहजकर्तामार्फत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले समूह छलफल, प्रस्तुतीकरण तथा व्यवहारिक अभ्यासमार्फत सक्रिय रूपमा सिकाइमा सहभागिता जनाएका थिए।




कार्यक्रमको क्रममा सत्र सञ्चालन गर्दै युवाहरूलाई निर्वाचनमा नागरिक सहभागिता, मतदाताको भूमिका, सामाजिक उत्तरदायित्व तथा समुदायमा युवाको योगदानका विषयमा जानकारी गराएका थिए।कार्यक्रममा बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, सामाजिक अभियन्ता, अभिभावक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सिकेका ज्ञान र सीपलाई समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमको अन्तिम दिन “उडान बटेश्वर युवा संकल्प–पत्र, २०८३” सार्वजनिक गरिएको थियो। संकल्प–पत्रमार्फत सहभागी युवाहरूले नैतिक नेतृत्व, नागरिक जिम्मेवारी, स्वयंसेवा, लोकतान्त्रिक मूल्य, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा बटेश्वरको समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका संयोजक तथा बटेश्वर युवा सञ्जाल प्रतिनिधि सरोज कुमार महतो ले भन्नुभयो, “उडान केवल दुई दिने तालिममा सीमित कार्यक्रम होइन, यो बटेश्वरका युवाहरूलाई नेतृत्व, ज्ञान र सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने अभियान हो। सहभागी युवाहरूको उत्साह, स्थानीय समुदायको साथ तथा विभिन्न साझेदार संस्थाहरूको सहयोगले कार्यक्रमलाई ऐतिहासिक बनाएको छ। आगामी दिनमा उडानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै निरन्तर सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता छ।”
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सबै ८५ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार उडान अब एक पटकको कार्यक्रममा मात्र सीमित नरही युवा नेतृत्व विकास, सामुदायिक सेवा तथा फेलोशिप गतिविधिहरू मार्फत निरन्तर अगाडि बढाइनेछ।

एक जना सहभागिले भन्नु ‘अरु कार्यक्रम भन्दा एक्दमै फरक लगेको छ उडान कार्यक्रम। एउटा रुख रोपेको जस्तै नै थियो। एउटा रुख रोपे पछि त्यसलाई मलजल, पानी गर्नुपर्छ। त्यसरी नै यो कार्यक्रमले सबै राम्रोसँग व्यवस्थापन गरेको छ। अरु कार्यक्रम जस्तै यो पनि एकैछिन हुन्छ अनि सकिहाल्छ जस्तो लगेको थियो तर यो कार्यक्रम फरक थियो। नचिनेको साथीहरूसँग चिनजान गर्न पाइयो। अरु कार्यक्रममा ६/७ घण्टाको मिटिङ हुँदा चिया समोसा मात्रै खाजा हुन्थ्यो, तर यहाँ दुई दिनमा खाजा खाना एक्दमै राम्रो थियो।

एक जना सहभागिले भन्नु ‘कार्यक्रम एक्दमै फरक लाग्यो। त्यही भएर त स्कुलबाट अलि ढिलो भए पनि आएको नि! यो कार्यक्रममा फरक शैली अपनाइएको छ। बस्ने व्यवस्था निकै फरक छ। हामीले नचिनेको साथीहरूलाई पनि चिन्ने गफ गर्ने मौका पायौ। स्कुलको जस्तो बसेर सुन्ने मात्रै भएको छैन। यहाँ त आफ्नो कुरा राख्न पाइएको छ, सिकाएको कुरालाई आफैले पनि गर्न पाएका छौ। सेसनको बिचमा फरक फरक गेम गराउनु भएको पनि एक्दमै मज्जा लाग्यो।

नागरिक समाजबाट भन्नु “उडान: बटेश्वर” युवाहरूको क्षमता, नेतृत्व, सृजनशीलता र प्रविधिमैत्री सोच विकास गर्दै समाज परिवर्तनका लागि जिम्मेवार नागरिक तयार गर्ने अभियान हो जुन सकारात्मक रुपमा सुरुवात भएछ।
बटेश्वर गाउँपालिकाबाटका प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका अगुवाहरु तपाईहरु हुनु हुन्छ अनि त्यसको लागि बटेश्वर युवा सँजालले गजवको कार्यक्रम गरेकोमा अभारी छौ। हामीले बहन गर्ने कामहरु सँजालले गरेको छ धन्यवाद।
उडान: बटेश्वर युवा कार्यक्रम २०८३ बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व विकास, नागरिक सहभागिता र स्थानीय सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको पहिलो एकीकृत युवा नेतृत्व कार्यक्रमका रूपमा स्थापित भएको आयोजकले जनाएको छ।




