जनकपुरधाम ।सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकारसँग प्रभावकारी सहकार्यको आवश्यकतामा जोड दिँदै प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) मधेश प्रदेशको प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ।
‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयक सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।



कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले सार्वजनिक शिक्षामा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई मानसिक तथा शारीरिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न शिक्षक, अभिभावक, प्रधानाध्यापक र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो।
उहाँले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार, नियमित अनुगमन तथा सबै पक्षको साझा जिम्मेवारीबाट मात्र सार्वजनिक शिक्षाको स्तर उकास्न सकिने धारणा व्यक्त गर्नुभयो।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदानप्रसाद गौतमले नेपालको शिक्षा क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले शिक्षामा पर्याप्त बजेट, स्पष्ट नीति तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायमाथि निरन्तर दबाब आवश्यक रहेको बताउनुभयो।
विकसित राष्ट्रहरूले शिक्षालाई विकासको पहिलो आधार मानेर लगानी बढाएको उल्लेख गर्दै अध्यक्ष गौतमले नेपालमा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादन र समग्र राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
प्यान मधेश प्रदेशका अध्यक्ष संजय झाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको साझेदारी, शिक्षा नीति कार्यान्वयनका चुनौती तथा समाधानका विषयमा विस्तृत छलफल भएको थियो।
सम्मेलनमा सहभागीहरूले विद्यालय नेतृत्व सक्षम, उत्तरदायी र परिणाममुखी हुन सकेमा सार्वजनिक शिक्षामा अपेक्षित सुधार सम्भव हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यालय व्यवस्थापन, शिक्षकको क्षमता अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता तथा स्थानीय सरकारको प्रभावकारी सहयोगमार्फत शिक्षाको गुणस्तर उकास्न सकिने सुझाव दिएका थिए।
कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयहरूले अवलम्बन गरेका सफल शैक्षिक अभ्याससमेत प्रस्तुत गरिएको थियो। यस्ता नवप्रवर्तनकारी अभ्यासलाई अन्य विद्यालयमा समेत विस्तार गर्न सके सार्वजनिक शिक्षाको समग्र गुणस्तर सुधारमा टेवा पुग्ने सहभागीहरूको निष्कर्ष रहेको थियो।




