राम पुकार महतो (बिद्रोही)
नेपाली कम्युनिष्ट आन्दोलन भनेको केबल एउटा राजनीतिक दस्तावेज होइन, यो पहाडको छाती चिरेर निस्केको आगोको त्यो मुस्लो हो जसले दुई सय वर्षदेखि शासकहरूको ओछ्यानमा आगो लगाइदिएको छ। यसको उपलब्धिको कुरा गर्दा हामी गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मात्र गन्दैनौं, हामी त्यो क्षण पनि गन्छौं जब रणभूमिमा भोक र नाङ्गो शरीर भए पनि विचारले हतियार समाउन सिकायो। नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको उत्पीडनलाई स्वाभाविक मान्ने नेपाली चेतनाको पर्दा च्यातिदिनु हो। जसलाई हिजो हलो जोत्न र गोरु बन्न सिकाइएको थियो, आज उसैले राज्यको नक्सा कोर्ने पेन समातेको छ। राजतन्त्रलाई ढाल्नु केबल भवन भत्काउनु थिएन, त्यो त सदियौंदेखिको भगवानको भ्रमलाई चिहानमा गाड्नु थियो। जनयुद्धले जुन सामन्ती जरालाई उखेल्यो, त्यसले मधेसको माटोदेखि कर्णालीको भीरसम्म एउटा सन्देश गुञ्जायो: तिमी पनि मान्छे हौ, तिम्रो पनि भोट बराबर हुन्छ। यो आन्दोलनले आफ्नै हातले आफ्नो खुट्टामा बाँधिएको दासताको साङ्लो फुत्काएको छ, तर एउटा विडम्बना के छ भने, साङ्लो फुत्केपछि हातहरू स्वतन्त्रताको स्वाद लिनुको साटो एकअर्काको घाँटी निमोठ्नमै व्यस्त छन्।



चुनौतीको पहाड यति अग्लो छ कि उपलब्धिका पानाहरू त्यसको फेदमा पुरिन सक्ने खतरा बढेको छ। नेपाली कम्युनिष्ट आन्दोलन आज आफ्नै सन्तानको लासमाथि उभिएको छ, यो सबैभन्दा पीडादायी चुनौती हो। कुनै बेला सिंगो व्यवस्थाविरुद्ध एक ढिक्का भएर लड्नेहरू आज सानातिना क्षुद्र स्वार्थ र कुर्सीको मोहमा यसरी टुक्रिएका छन् कि आन्दोलनको मूल नदी दर्जनौं साना खहरे खोल्सामा हराएको छ। विचारधाराको त्यो तीक्ष्ण धार कुण्ठित भएको छ, सिद्धान्तको त्यो पवित्र मन्दिर दलाल पुँजीवादको व्यापारिक केन्द्रमा परिणत भएको छ। हिजो जसले अर्बपतिहरूको घर जलाउने सपना देख्यो, आज उसैको हातमा अर्बपतिहरूको चन्दाको चेक छ। यो चुनौती केबल सत्ताको होइन, आत्माको हो। सिंहदरबार पुगेपछि मानिसहरूले जनताको बस्तीको बाटो बिर्सनु, त्यो सबैभन्दा खतरनाक दुर्घटना हो। अर्को ठूलो चुनौती पहिचानको छ। हामीले देश बनायौं, तर जनताको मन किन्न सकेनौं। गाउँबाट युवा पलायन भइरहेछ, विदेशको ज्याला नेपाली सपनाभन्दा महँगो भइरहेछ, अनि हामी सत्ताको महलमा बसेर पुराना युद्धका गीत गाइरहेछौं। सबैभन्दा ठूलो चुनौती भनेको ‘व्यवस्था बदलियो तर जीवन बदलिएन’ भन्ने जनआक्रोश हो। जब कम्युनिष्ट सरकार आफैंले पुरानै नोकरशाही र पुरानै बैंकरहरूको मुटु निकालेर हेर्न सक्दैन, तब जनताको विश्वास भत्कन्छ।
र अब नयाँ दिशाको कुरा, जुन दिशा सत्ताको पर्खाल होइन, समाजको आधारशिला चिन्ने हो। नयाँ दिशा भनेको विद्रोहको उर्जालाई विकास र उत्पादनसँग जोड्नु हो। हिजोको हतियार बन्दुक थियो, आजको हतियार प्रविधि र रोजगारी हुनुपर्छ। हामीले ‘जनताको बहुदलीय जनवाद’ वा ‘माओवाद’ भन्ने ट्यागहरू मात्र पढिरहने होइन, ती सिद्धान्तहरूले हलो जोत्ने किसानको खेतमा मल र पानी ल्याइदिएको छ कि छैन भनेर हेर्नुपर्छ। नयाँ दिशा भनेको आन्दोलनको एकीकरण मात्र होइन, विचारको एकताको पुनर्जागरण हो। जबसम्म नेपाली कम्युनिष्टहरू आफ्नै छायाँसँग डराएर ऐना हेर्न छोड्दैनन्, तबसम्म जनताले यिनीहरूलाई ऐतिहासिक फाइलमा मात्र खोज्नेछन्। यो आन्दोलनलाई फेरि एकपटक ‘आफैंलाई मारेर आन्दोलनलाई बचाउने’ वैचारिक संघर्षको खाँचो छ। अर्थतन्त्रलाई उत्पादनसँग जोड्ने, कुटनीतिलाई स्वाभिमानसँग जोड्ने, र सबैभन्दा माथि, जनताको भान्सामा चामल र प्लेटमा तरकारी सुनिश्चित गर्ने दिशा नै आजको साँचो विद्रोहको दिशा हो। यदि नेपाली कम्युनिष्ट आन्दोलन आफैंलाई फेरि परिवर्तन गर्न सक्दैन भने, इतिहासले यसलाई त्यसरी नै बिर्सनेछ जसरी बादलले आकाशको रङ एकछिनलाई ढाकेर हराउँछ। तर यदि यो आन्दोलन फेरि एकपटक जनताको काँधमा उभिन सक्यो भने, यो मुलुकको इतिहासको राप र रक्तसञ्चार फेरि रातो हुन बेर लाग्दैन। नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ दिशा आकाशतिर होइन, पाखुरी सरेर कम्मरमा हात राखेर उभिएको गरिबको माटोले खाएको हात समातेर अघि बढ्नु हो। त्यहीँ छ विद्रोह,त्यसो भए प्रश्न उठ्छ, के यो आन्दोलन केवल एउटा बिर्सने रोगको शिकार भएर मर्नका लागि मात्र बाँचेको हो त? होइन। तर अब जुन अवस्थामा हामी नेपाली कम्युनिष्ट आन्दोलनलाई हेर्छौं, त्यो कुनै जीवित नदीजस्तो लाग्दैन, बरु आफ्नै पुरानो भेलको मक्किएको रूखजस्तो लाग्छ। यो आन्दोलनलाई अब नयाँ दिशा दिनु भनेको त्यही मक्किएको ठुटोमा नयाँ मुना पलाउने आशा गर्नुजस्तै कठिन छ। तर इतिहासको विडम्बना हेर्नुहोस्, यो आन्दोलन जति पटक सकियो भन्ने सुनियो, त्यति नै पटक यसले अर्को अनपेक्षित विद्रोही मोड लिएको छ। नयाँ दिशाको अर्थ अब कुनै ठूलो जुलुस वा ठूलो हडताल होइन, किनकि सडकमा उत्रने ऊर्जा अब हामीसँग छैन। जनता थाकेका छन्, युवा पलायन भएका छन्, र जो बाँकी छन् उनीहरूका आँखामा सपनाको सट्टा अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकको हवाई भाडाको चिन्ता मात्र छ। यस्तो अवस्थामा कम्युनिष्ट आन्दोलनले सत्ताको सिंहासन होइन, जनताको भान्छाकोठा खोज्नुपर्छ। अबको कम्युनिस्ट राजनीति भनेको सहकारी खेती हो, सीपमूलक शिक्षा हो, र स्थानीय बजारको संरक्षण हो। यदि पार्टीका नेताहरूले यो कुरा बुझ्दैनन् भने, उनीहरूले रचेको समाजवादको कुरा केवल रक्सीको नशामा गाइने पुरानो लोकगीतजस्तो मात्र बाँकी रहनेछ।
अर्कोतिर, चुनौतीको पहाड यति धेरै उठेको छ कि त्यसले उपलब्धिको क्षितिज नै ढाकेको छ। कुनै बेला विदेशी दूतावासको अगाडि ‘डाउन विद इम्पेरियालिज्म’ भन्ने नारा लगाउने ओठहरू आज उही दूतावासको भिसा पाएपछि कृतज्ञताको मुस्कान छर्न बाध्य छन्। यो चुनौती केवल राजनीतिक अस्थिरताको मात्र होइन, यो त नेपाली कम्युनिष्ट आन्दोलनको आत्मा र शरीरबीचको अन्तरविरोधको चरम पराकाष्ठा हो। शरीरले अहिलेको उदारवादी विश्व व्यवस्थामा रमाउन खोज्छ, भोगविलास र सुविधाको खोजी गर्छ, तर आत्माले भने अझै पनि कहीं न कहीं त्यही पुरानो संघर्षको पीर बोकेको छ। यही द्वन्द्वले गर्दा नेता चाहे जति दुष्ट र भ्रष्ट भए पनि, जनताको मानसपटलमा ‘कम्युनिस्ट’ शब्द पूर्णतः मर्न सकेको छैन। जनता अझै पनि एउटा त्यस्तो कम्युनिस्टको प्रतीक्षामा छन्, जो न त ट्रयाकसुट लगाएर ज्याकुजीमा नुहाउँछ, न त गाडीको पछाडि झन्डा राखेर बाटो छेक्छ। जनता एउटा त्यस्तो कम्युनिस्ट खोजिरहेका छन् जो बर्खामा उनीहरूसँगै धानको बीउ रोप्न आउँछ, जो महिनाको अन्तिममा खल्ती रित्तिएपछि त्यही पीडा बुझ्छ। जबसम्म आन्दोलनले यो ‘माटोको कम्युनिस्ट’ जन्माउन सक्दैन, तबसम्म हामीले जति नै महाधिवेशन गरे पनि, जति नै पार्टी एकता र फुटका नाटक मञ्चन गरे पनि, यो सबै खोक्रो रणभेरीको आवाज मात्र हुनेछ।
अनि नयाँ दिशा भन्नेबित्तिकै मानिसहरू नयाँ पार्टी, नयाँ गठबन्धन वा नयाँ चुनाव चिह्न खोज्न थाल्छन्। कति मूर्खता हो यो। नयाँ दिशा कुनै बन्द कोठाको कागजमा लेखिँदैन, नयाँ दिशा जन्मन्छ पसिनाको गन्धसँग। नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ दिशा भनेको ‘गाउँ फर्क’ अभियानको पुनर्लेखन हो। तर यो बाध्यताको गाउँ फर्काइ होइन, यो त जानाजानी गरिने विचारको फर्काइ हो। राजधानीको चाकडी गर्ने बानी परेका नेताहरूले आफ्नो ढाड झुकाएर गाउँको हिलोमा उभिन सक्नुपर्छ। उनीहरूले ‘क्याडर’ भन्ने शब्दको सट्टा ‘सहयोगी’ भन्न सिक्नुपर्छ। यो आन्दोलन अब बाँच्ने हो भने, यसले आफ्नो पुरानो अहंकार त्याग्नुपर्छ। यसले मान्नुपर्छ कि विगतमा भएका क्रान्तिका नाउँमा धेरै अन्याय र गलत मार्गहरू पनि अवलम्बन गरियो। यसले मान्नुपर्छ कि ‘सत्ता’ भन्ने चिज अफिम हो, र हामी त्यही अफिमको लतमा डुबेर युगान्तकारी निर्णयहरू गर्न चुक्यौं। अबको दिशा आत्मालोचनाको चितामा बलेर निस्कने खरानीबाट शुरू हुन्छ। जब कुनै नेता भन्छ, “हो, मैले गल्ती गरें, म लोभी भएँ, मैले जनताको रगतलाई तिरस्कार गरें,” त्यही दिनदेखि यो आन्दोलनले नयाँ बाटो समात्छ। अन्यथा, यो सबै इतिहासको कुनै अध्यायमा एउटा खुल्दै नखुलेको सन्दूक भएर थन्किनेछ। र हाम्रा नातिहरूले पनि यसलाई पल्टाएर हेर्ने छैनन्, किनकि उनीहरूका लागि ‘कम्युनिस्ट’ शब्द नै त्यो ढुङ्गाजस्तो हुनेछ जो युगौंदेखि उस्तै छ, नबदलिने, नचल्ने, केवल बाटोमा बाधक भएर बसेको। नयाँ दिशा खोज्नु छ भने त्यो ढुङ्गालाई कुँदेर मूर्ति बनाउनुपर्छ, हैन भने त्यसलाई पन्छाएर अघि बढ्नुपर्छ। नेपाली राजनीतिको सबैभन्दा ठूलो दुर्भाग्य यही हो, हामी न ढुङ्गालाई कुँद्न सक्छौं, न पन्छाउन सक्छौं। हामी केवल त्यही ढुङ्गाको वरिपरि घुमिरहन्छौं र क्रान्ति भयो भन्ने भ्रम पालिरहन्छौं। अब यो भ्रमको पर्दा च्यात्ने बेला भयो।




