महोत्तरी – असार महिना बितिसक्दा पनि महोत्तरी जिल्लाका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। धान रोपाइँका लागि सबैभन्दा उपयुक्त मानिने असारभरि पर्याप्त पानी नपरेपछि किसानहरू स्यालो ट्युबवेल, विद्युतीय मोटर तथा खोलाको पानीको सहारामा रोपाइँ गर्न बाध्य भएका छन्। सिँचाइको सुविधा नपुगेका धेरै खेत भने अझै बाँझै रहेका छन्।

औरही नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका लगायतका क्षेत्रका किसानहरूले यस वर्ष कमजोर मनसुनका कारण खेतीपातीमा गम्भीर समस्या भोग्नुपरेको बताएका छन्। पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलाइ भएको मात्र होइन, समयमा रासायनिक मल उपलब्ध नहुँदा किसान दोहोरो मारमा परेका छन्।



औरही नगरपालिका–२ का किसान घनश्याम यादवले स्यालो ट्युबवेलबाट मोटरको सहायताले खेतमा पानी लगाएर रोपाइँ गरे पनि खेतमा पानी टिक्न नसकेको बताउनुभयो। उहाँका अनुसार यस वर्ष आवश्यक मात्रामा वर्षा नभएकाले खेतमा जति पानी हाल्दा पनि केही समयमै सुक्ने गरेको छ। यसले धानको बिरुवा जोगाउनसमेत कठिनाइ भएको उहाँले उल्लेख गर्नुभयो।

सोही स्थानका अर्का किसान दिनेश यादवले सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो। मोटरबाट पानी तानेर रोपाइँ गरे पनि दुई–तीन दिनमै खेत सुक्ने गरेको उहाँले बताउँदै डिजेल, विद्युत् र सिँचाइ खर्चले किसानमाथि थप आर्थिक भार परेको जानकारी दिनुभयो।
सम्सी गाउँपालिका–७ का किसान राजेश यादवका अनुसार त्यस क्षेत्रमा अझै व्यापक रूपमा धान रोपाइँ सुरु हुन सकेको छैन। सिँचाइको पर्याप्त सुविधा नहुँदा अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा रहेको उहाँले बताउनुभयो।

रामगोपालपुर नगरपालिका–८ का किसान सन्तोष मण्डलले आफूहरू परम्परादेखि वर्षाको भरमा खेती गर्दै आएको उल्लेख गर्दै यस वर्ष पर्याप्त वर्षा नहुँदा किसान निराश बनेको बताउनुभयो। उहाँका अनुसार जमिनमुनिको पानीको सतह घट्दै जाँदा मोटरबाट समेत पर्याप्त पानी आउन छाडेको छ, जसले सिँचाइमा थप समस्या सिर्जना गरेको छ।
कृषि तथा मौसमसम्बन्धी जानकारहरूले समयमै पर्याप्त वर्षा नभए धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन्। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले उत्पादनमा कमी आए त्यसको असर खाद्य सुरक्षा र किसानको आयआर्जनमा समेत पर्ने उनीहरूको भनाइ छ।

किसानहरूले तत्काल रासायनिक मलको सहज आपूर्ति, सिँचाइको वैकल्पिक व्यवस्था तथा प्रभावित किसानका लागि राहत कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै प्रभावकारी पहल नगरिए यस वर्ष महोत्तरीमा धान उत्पादनमा उल्लेख्य गिरावट आउने र त्यसको प्रभाव समग्र खाद्य सुरक्षामा समेत पर्ने सरोकारवालाले बताएका छन्।




