काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सोमबार सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर सरकार आफैँले बचपना देखाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै झाले राज्य आफैँले यसरी आतंकित पार्न नहुने भनी आफ्नै सरकारमाथि प्रश्न सोधेका हुन् ।



झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु भएको उल्लेख गर्दै राज्य आफैँले नागरिकलाई थप आतङ्कित बनाउने गतिविधि गर्न नहुने बताएका हुन् ।
उनले यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने भन्दै प्रश्न गरे, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन्जी पुस्ताले शहादत गरेको हो ?’
रास्वपा नेता झाले यस प्रकारका गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको जनाउँदै राज्यका निकायले कानुनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।




