महोत्तरी – नेपाली कांग्रेस औरही नगर कार्यसमितिले ३५ वर्षमुनिका युवा तथा युवतीलाई विशेष प्राथमिकतामा राख्दै पार्टीको सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता विस्तार अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ।
औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिर परिसरमा शनिबार सम्पन्न नगर कार्यसमितिको बैठकले वडा नं. १ देखि ९ सम्म सदस्यता अद्यावधिक, नयाँ क्रियाशील तथा साधारण सदस्यता विस्तार अभियानलाई श्रावण ३ गते राति १२ बजेसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने सर्वसम्मत निर्णय गरेको हो।




नगर सभापति जोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार राय, मधेश प्रदेश कार्यसमिति सदस्य नरेन्द्र यादव, नगर उपसभापति रामविलास राय तथा जिल्ला प्रतिनिधि सुशील यादवसहित नगर कार्यसमितिका पदाधिकारी, वडा सभापति, नेता–कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

बैठकको मुख्य एजेन्डा पार्टीको सदस्यता अद्यावधिक र संगठन विस्तार रहेको थियो। निर्णयअनुसार वडा समितिलाई सक्रिय परिचालन गर्दै निर्धारित समयभित्र सदस्यता अभियान सम्पन्न गरिनेछ। विशेषगरी युवा पुस्तालाई पार्टीसँग आबद्ध गराई संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ।प्रमुख अतिथि शम्भुलाल श्रेष्ठले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र पार्टीको सिद्धान्तलाई जनस्तरसम्म स्थापित गर्न बलियो संगठन आवश्यक रहेको बताउनुभयो।

सदस्यता विस्तारलाई केवल सङ्ख्या बढाउने अभियानका रूपमा नभई सक्षम, अनुशासित र विचारप्रति प्रतिबद्ध कार्यकर्ता उत्पादन गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार रायले संगठन नै पार्टीको वास्तविक शक्ति भएको उल्लेख गर्दै नयाँ पुस्तालाई पार्टीसँग जोड्नु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले वडा तहबाट योजनाबद्ध रूपमा अभियान सञ्चालन गरी निर्धारित समयभित्र लक्ष्य पूरा गर्न आग्रह गर्नुभयो।
मधेश प्रदेश कार्यसमिति सदस्य नरेन्द्र यादवले बलियो सदस्यता प्रणाली संगठन सुदृढीकरणको आधार भएको बताउँदै युवा पुस्तालाई पार्टीको विचार, नीति र लोकतान्त्रिक संस्कारसँग जोड्नुपर्नेमा जोड दिनुभयो।जिल्ला प्रतिनिधि सुशील यादवले पार्टीको विधान र प्रक्रियाअनुसार पारदर्शी रूपमा सदस्यता वितरण गर्दै प्रत्येक वडा समितिले जिम्मेवारीपूर्वक अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।

नगर उपसभापति रामविलास रायले सदस्यता अभियानले पार्टीलाई जनतासँग अझ निकट बनाउने उल्लेख गर्दै युवा सहभागिता बढाउन र संगठनलाई चलायमान बनाउन सबै तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष जोगेन्द्र यादवले सक्रिय सदस्य र समर्पित कार्यकर्ताकै आधारमा पार्टी बलियो हुने उल्लेख गर्दै सबै वडा समितिलाई निर्धारित समयभित्र सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता विस्तारको लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो। उहाँले संगठन विस्तारसँगै अनुशासन, एकता र जनसम्पर्कलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

बैठकले सदस्यता अद्यावधिक,नयाँ सदस्यता विस्तार तथा संगठन सुदृढीकरणसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकको अन्त्यमा अध्यक्ष यादवले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै पारित निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।




