सुजाता राई
विराटनगर । किरात राई यायोक्खाको आयोजनामा किरात राईको लोगो, झण्डा तथा यसको ऐतिहासिक पृष्ठभूमिसम्बन्धी एकदिने विश्लेषणात्मक प्रशिक्षण कार्यक्रम शनिबार विराटनगरस्थित साकेला भवनमा सम्पन्न भएको छ।



कार्यक्रममा किरात राई यायोक्खाकी अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा दोर्पध्वज राई उपस्थित थिए। अतिथिहरूमा किरात प्रदेश सदस्य खड्का बहादुर राई, सुम्निमा सांस्कृतिक परिवारका अध्यक्ष मधु राई, सुम्निमा संघ मोरङकी उपाध्यक्ष नन्दकुमारी राई, सुम्निमा संघकी अध्यक्ष सुनिता छाराहाङ राई, बान्तावा खिम नगर अध्यक्ष हाङ्कोनयुमा राई, किरात राई यायोक्खाका सल्लाहकार भुराज राई, सल्लाहकार मेजर मानबहादुर राई तथा पूर्व अध्यक्ष मोहन राई सहभागी थिए।

कार्यक्रममा मन्तव्य राख्दै सल्लाहकार मेजर मानबहादुर राईले किरात राई समुदायभित्र विचार र सोचमा रहेको विभाजनका कारण अपेक्षित एकता कायम हुन नसकेको उल्लेख गरे। उनले भेदभावको भावना त्याग्दै सबै किरात राई एकजुट हुनुपर्नेमा जोड दिँदै, “एक–एक थोपा मिलेर पानी बन्छ, नदी–नदी मिलेर समुद्र बन्छ भनेझैँ हाम्रो समुदाय पनि एकताबद्ध हुनुपर्छ,” भन्ने धारणा व्यक्त गरे।

प्रमुख अतिथि दोर्पध्वज राईले शुभकामना मन्तव्य व्यक्त गर्दै किरात राई समुदायको पहिचान, इतिहास र संस्कृतिलाई जोगाउन लोगो र झण्डाको सही बुझाइ आवश्यक रहेको बताए। उनले आफ्नो मौलिक पहिचानलाई पुस्तान्तरण गर्दै संगठनलाई थप सुदृढ बनाउन यस्ता प्रशिक्षण प्रभावकारी हुने उल्लेख गरे। समुदायभित्र आपसी एकता, सहकार्य र साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले आफ्नो इतिहास र पहिचानप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
सहभागीहरूले प्रशिक्षण अत्यन्त उपयोगी, ज्ञानवर्द्धक तथा वर्तमान समयमा आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।
किरात राई यायोक्खाकी सह–सचिव बालकुमारी राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दशरथ रुमदाली राईले गरेका थिए।





