
जनकपुरधाम- जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा आज भातृद्वितिय पर्व मनाईदै छ ।

गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ ।

मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले बनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान-सुपारी र शिरमा गम्छा/तौलिया/रुमाल राखिदिएर न्यौत दिन्छन् र सप्त रंगी टिका दिदी बहिनीले दाजुभाईलाई लगाइ दिने गर्छन् ।
पिँढीमाथि बसेका दाजुभाइको हात पखालि दिएर पान-सुपारी एवं मिठाईं हातमा राखिदिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाईं खुवाइने चलन छ ।

न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले-पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर-पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउज सहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।

यो ‘भातृद्वितीया’ भनेको पहाडी समुदायले मनाउने भाई टिका जस्तो नै हो । यस पर्वमा दिदी बहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाईलाई ‘बजरी’ खुवाउने चलन छ। ‘बजरी’ खुवाउनुको अर्थ आफ्नो दाजुभाईलाई कडा हुनु, (रोगव्याधि नलाग्नु रहेको छ ।





