महोत्तरी – श्री राष्ट्रिय माध्यमिक विद्यालयले ३६ वर्षसम्म शिक्षण र खेलकुद प्रशिक्षणमा समर्पित शिक्षक लक्ष्मण कुमार गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।
अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका गौतम पछि स्थायी नियुक्ति भई सोही विद्यालयमा निरन्तर ३६ वर्ष कार्यरत रहेपछि अवकाश भएका हुन्। राष्ट्रिय ह्यान्डबल खेलाडीसमेत रहेका उनले शिक्षणसँगै विद्यालय र आसपासका क्षेत्रमा खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्।




अवकाशका अवसरमा विद्यालयले आयोजना गरेको बिदाइ समारोहमा गौतमलाई सम्मानपत्र, फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीयवासी, जनप्रतिनिधि तथा समाजसेवीको उल्लेख्य उपस्थिति थियो।

विद्यालयमा रहँदा गौतमले विद्यार्थीलाई नियमित रूपमा खेलकुद प्रशिक्षण दिँदै गाउँबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको प्रशिक्षणबाट धेरै विद्यार्थी विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन्।
कार्यक्रममा गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंहले शिक्षणसँगै खेलकुदको विकासमा गौतमले पुर्याएको योगदान अनुकरणीय रहेको बताए। उनले यस्ता शिक्षकको योगदानले विद्यालय मात्र होइन, समाजलाई पनि दीर्घकालीन लाभ पुगेको उल्लेख गरे।

स्थानीय विष्णु लामाले आफू फुटबल खेलाडी भए पनि किशोरावस्थामा गौतमले भलिबल खेल्न सिकाएर खेलकुदप्रति थप प्रेरित गरेको स्मरण गरे। “उहाँले सिकाएको अनुशासन र मेहनत आज पनि जीवनमा उपयोगी बनेको छ,” उनले भने।
विद्यालयका कायममुकायम प्रधानाध्यापक रामस्नेही यादवले गौतमको समर्पित सेवाको प्रशंसा गर्दै अवकाशपछिको जीवन सुखद, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरे।

बिदाइ समारोहमा वक्ताहरूले गौतमको शिक्षण, अनुशासन र खेलकुद विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए। सम्मान ग्रहणपछि गौतमले विद्यालय, सहकर्मी, विद्यार्थी र स्थानीय समुदायबाट पाएको साथ र सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण सेवाबाट अवकाश लिए पनि समाज र खेलकुदको विकासमा आफ्नो सहयोग निरन्तर रहने बताए।






