धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित बसही खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास, महोत्तरीको संयुक्त टोलीले शुक्रबार दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको हरलाखी थाना–५ निवासी २८ वर्षीय सन्तोषकुमार महतो र बासोपट्टी थाना–२ निवासी ४५ वर्षीय मिथलेश साहु रहेका छन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार जाँचका क्रममा प्रहरी टोलीलाई देख्नासाथ दुवै जना भाग्न खोजेपछि लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशराज थापाले एक राउन्ड हवाई फायर गर्नुभएको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई घेराबन्दी गरी नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये महतोको शरीर खानतलासी गर्दा पाइन्टको गोजीबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केहि समय देखि मधेसका जिल्लाहरुमा लागु औषध दुर्व्यसन का घटनाले मधेसका आठवटै जिल्लाहरुमा त्रासको पैदा भएको छ। हिजो मात्र सिरहा मा ६ राउण्ड गोली प्रहार गरि लागु औषध सेवन कर्ता हरुलाई समातेको थियो भने आज शुक्रबार रौतहट को गुजरा नगरपालिका मा समेत लागि औषध सेवा कर्ता एक युवाले महिलाको घाँटी रेटेर दिनदहाडै हत्या गरेको छ। जसले गर्दा मधेस का आठवटै जिल्लाहरु धनुषा, सिरहा, सप्तरी, सर्लाही, महोत्तरी,बारा पर्सा रौतहट मा शान्ति – सुरक्षामा चुनौती थपिएको छ। मानिसहरू घर बाहिर आवतजावत गर्दा लागु औषध सेवन गरेका व्यक्तिहरुबाट आक्रमणको डरले मधेसमा डरको माहौल पैदा भएको छ ।








