महोत्तरी – जलेश्वर नगरपालिकाले समुदायमै स्वास्थ्य जोखिमको पहिचान, नियन्त्रण तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “समुदायमा आधारित रोग निगरानी प्रणाली (CBDS)” सम्बन्धी विस्तृत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
बुधबार जलेश्वर नगरपालिका–९ स्थित प्रकौली स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले स्वास्थ्य तथा सामाजिक सुरक्षाका बहुआयामिक पक्षलाई समेट्दै स्थानीय तहमा प्रभावकारी सन्देश प्रवाह गरेको छ।कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, युवा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




नगरपालिकाले समुदायमै देखिन सक्ने अनपेक्षित रोग, संक्रामक महामारी तथा सामाजिक विकृतिहरूको प्रारम्भिक पहिचान र समयमै सूचना प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।कार्यक्रमको विशेष पक्षका रूपमा विद्यालय तथा सार्वजनिक स्थलहरूमा हुन सक्ने यौन दुर्व्यवहारसम्बन्धी सचेतना, त्यसका कानुनी सजाय तथा पीडितलाई न्याय दिलाउने उपायबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।

प्रशिक्षकहरूले यस्ता घटनाहरू लुकाउनुको सट्टा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउनु नै सुरक्षित समाज निर्माणको आधार हुनेमा जोड दिए।अभिमुखीकरण कार्यक्रममा प्रकौली स्वास्थ्य चौकी प्रमुख निरञ्जन यादव तथा पिएचआरडी संस्थाका कार्यक्रम अधिकृत लेखनाथ यादवले समुदायको भूमिकालाई सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे।

“समुदाय नै पहिलो सूचना केन्द्र हो। कसैलाई असामान्य लक्षण देखिएमा वा कुनै शंकास्पद घटना भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानकारी गराउनु आवश्यक हुन्छ। हामीले ‘हेल्लो स्वास्थ्य’ हेल्पलाइनमार्फत सूचना दिने प्रक्रियाबारे पनि सहभागीहरूलाई अभ्यास गराएका छौं,” कार्यक्रम अधिकृत यादवले बताए।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा संस्थाका प्रतिनिधिहरूले सहभागीहरूलाई ‘हेल्लो स्वास्थ्य’ को निःशुल्क नम्बर १११५ मा सम्पर्क गरी सूचना दिने प्रक्रिया, रोगको प्रारम्भिक संकेत पहिचान गर्ने तरिका तथा तत्काल प्रतिक्रिया दिने विधिबारे व्यवहारिक अभ्याससमेत गराएका थिए।

एक सहभागी शिक्षकले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिँदै भने, “विद्यालयमा पनि यस्ता घटनाहरू हुन सक्छन् भन्ने कुरा हामीले गम्भीर रूपमा लिनुपर्छ। अब हामी विद्यार्थीलाई सचेत गराउने र कुनै समस्या देखिएमा तुरुन्त जानकारी गराउनेछौं।”त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँस्तरमै स्वास्थ्य सचेतना फैलाउन आफूहरू थप सक्षम भएको प्रतिक्रिया दिएका छन्।

प्रकौली स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट विक्की सिंहले स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको सक्रियताले रोग निवारणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै सबैलाई सजग र तत्पर रहन आग्रह गरे।
जलेश्वर नगरपालिकाले विभिन्न वडामा निरन्तर रूपमा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। बुधबार सम्पन्न कार्यक्रम जलेश्वर नगरपालिका–९ मा सञ्चालन गरिएको हो। उक्त कार्यक्रम उनीसेफ संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा पिएचआरडी संस्थाको साझेदारीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।






