जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले देशभित्रका समस्याहरुको समाधान खोजेर सरकार अगाडी बढीरहेको बताउनुभएको छ ।
सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनुभएका सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले काम गर्ने शिलशिलामा देखिएका चुनौती र अवसरहरुलाई सरकारले केलाएर अघि बढी रहेको बताउनुभयो ।



उहाँले भन्नुभयो, “अहिलेको परिस्थितीमा समस्याहरु धेरै छन् । सरकारले ती समस्याहरुको समाधान खोजेर अगाडी बढने क्रममा छ ।” उहाँले मधेश प्रदेशको साक्षरताको विषयमा सार्वजनिक भएको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरि सकिएको भन्दै प्रतिवेदनको अधारमा प्रगति पनि राम्रै भएको बताउनुभयो । उहाँले यस विषयमा प्रदेश सरकार र प्रदेश प्रमुखसँगको छलफल पश्चात मधेश प्रदेशलाई पनि छिटै साक्षर प्रदेशको रुपमा घोषणा गरिने बताउनुभयो । उहाँले आफू जनकपुरधामको रार्जशी जनक विश्व विद्यालयको विद्यमान समस्याहरुको बारेमा जानकारी लिन जनकपुरधाम आएको भन्दै विश्व विद्यालयलाई फरक ढंगले अगाडी बढाउन चाहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको जग्गाको समस्या छिटै समाधान भएर भवन निमार्णको प्रक्रिया पनि चाँडै अगाडी बढने बताउनुभयो ।
उहाँले एक महिनाअघि जनकपुरधाम आउँदा जनकपुरधामको श्री सङ्ककटमोचन माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफूलाई खेलकुदको सामग्रीको अभावका कारण खेलकुद हुन नसकेको बताएको कारण आज आफूले सो विद्यालयका केही विद्यार्थीहरुलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । मन्त्री पोखरेलले आजै जनकपुरधामको श्री सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा गएर खेल प्रति आकर्षित विद्यार्थीलाई व्याट बल, भलिबल, फुटबल, व्याडमिन्टन लगायतका खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।
मन्त्री पोखरेलले खेलकुद सामग्री हस्तान्तरणपछि केहीबेर विद्यार्थीसँग क्रिकेट खेल पनि खेल्नुभएको थियो । मन्त्री पोखरेलले आजै रार्जर्शी जनक विश्व विद्यालय र जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको स्थगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।





